काठमाण्डौ । भारतको बजेट सार्वजनिक भएसँगै तीव्र गतिमा बढिरहेको भारतको सेयर बजारले निरन्तरता पाइरहेको छ। बिहीबारको सुरुआती गिरावटपछि भारतीय सेयर बजारले राम्रो रिकभरी गरिरहेको छ। सन्सेक्स ९४.३६ अंकले बढ्दै ५०,३५०.११ को विन्दुमा कारोबार भइरहेको छ। 

भारतीय सेयर बजारमा आइरहेको बढोत्तरीका कारण भारतका सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण बढेर रेकर्डतोड २०० लाख करोड भारतीय रुपैयाँ पार पुगेको छ। यो रकम सन् २०२०/२१ का लागि रहेको भारतको जीडीपीभन्दा धेरै हो। सन् २०२०/२१ का लागि भारतको जीडीपी १९४.८५ लाख करोड भारतीय रुपैयाँ रहेको छ। 

बजारमा बढोत्तरीमा सबैभन्दा अगाडि अटो र मेटल समूहका सेयरहरु रहेका छन्। निफ्टी अटो, इन्डेक्समा १ प्रतिशत र मेटल इन्डेक्स २.११ प्रतिशतभन्दा माथि कारोबार गरिरहेका छन्। 

भारतीय सेयर बजार बढ्नुको मुख्य कारण भारतको घरेलु बजारमा विदेशी लगानी निरन्तर जारी रहनु हो। विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) ले २०२०/२१ को अवधिमा अहिलेसम्म रेकर्डतोड ३१.७० अर्ब डलर लगानी गरेको छ। यसअघि पहिलो आर्थिक वर्ष २०१२/१३ मा विदेशी लगानीकर्ताले २५.८ अर्ब डलर लगानी गरेका थिए। विज्ञहरुका अनुसार भारतको चालु आर्थिक वर्ष समाप्त हुन अझै दुई महिना बाँकी रहेकोमा लगानीको आकँडा अझै बढ्न सक्छ। 

यस्तै भारतको सेयर बजार बढ्नुका अर्काे कारण त्यहाँका प्रमुख कम्पनीहरुको बलियो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुनु पनि एक हो। ठूला कम्पनीहरुको बलियो वित्तीय विवरण सार्वजनिक भएसँगै भारतीय लगानीकर्ताको मनोबल सकारात्मक हुन पुगेको छ। रिलायन्स इन्डस्ट्रिज, टीसीएस र एचडीएफसी बैंकसहित अन्य कम्पनीहरुलाई फेस्टिभ सिजनका कारण राम्रो फाइदा प्राप्त भएको छ। 

भारत सरकारले गत फेबु्रअरी १ मा देशको केन्द्रीय बजेट पेश गरेको थियो। यो बजेटमा कुनै पनि नयाँ कर थप गरिएको छैन। बजेट प्रस्तुत हुनुपूर्व नयाँ करको व्यवस्था हुने हो कि भनेर लगानीकर्ता चिन्तित थिए र बजेटमा त्यस्तो कुनै व्यवस्था नगरिएका कारण लगानीकर्ताको मनोबल उच्च हुन पुगेको छ। जसको परिणाम भारतीय सेयर बजारमा देखिँदैछ। 

यसका साथै बजेट बैंकहरुको सुधारसहित पूर्वाधार क्षेत्रमा लगानी गर्ने विषयमा केन्द्रित थियो। भारतीय बजार विश्लेषकहरुका अनुसार भारतको बजेट वृद्धिमा केन्द्रित छ। जसका कारण विदेशी लगानीकर्ताका साथसाथै भारतका घरेलु लगानीकर्तासमेत लगानी बढाइरहेका छन्। 

हिजो भारतीय सेयर बजार पहिलोपटक ४५८ अंकको बढोत्तरीका साथ ५० हजार विन्दुमाथि पुगेको थियो। हिजो सेन्सेक्स ५०,२५५.७५ को विन्दुमा पुगेको थियो।