काठमाण्डौ । छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ।

भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ।

चार महिनाभन्दा लामो समयपछि मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढेपछि लगातार भाउ उकालो लागिरहेको हो। 

पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ। यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ। 

मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ। चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ।

भारत पेट्रोल र डिजेलको मूल्य राज्यअनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरु राज्यअनुसार फरक हुन्छन्। 

मुडिज इन्भेस्टर्स सर्भिसको एक रिपोर्टअनुसार भारतका प्रमुख तेल कम्पनीहरु आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिने बताएका थिए। जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा व्यहोरेका छन्। –एजेन्सी