काठमाण्डौ । देशको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । 

त्यहाँको अर्थतन्त्रको ग्रोथ यसैगरी जारी गरे केही समयमै विश्वकै शक्तिशाली देशको रुपमा भारत उदाउने निश्चित झै देखिइसकेको छ । हामी भने आन्तरिक मामलामै रुमल्लिरहेका छौं । 

नेपालको अर्थतन्त्र समस्याग्रस्त भइरहेकै बेला भारतको अर्थतन्त्रमा सुधार भएको र ऐतिहासिक उचाईतर्फ अगाडि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

समाचारअनुसार पहिलोपटक भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई पार गरेको छ । योसँगै विश्वकै सबैभन्दा चौथो ठूलो अर्थतन्त्र बन्ने दिशातर्फ भारत निकै नजिक रहेको समेत समाचारमा दाबी गरिएको छ । 

आर्थिक वर्ष २०२३–२४ को पहिलो त्रैमासमा भारतको जीडीपी ७.८ प्रतिशतले बढेको छ । हालै भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डियाका गभर्नर शशिकान्त दासले देशको अर्थतन्त्रको विषयमा भरोसायोग्य अभिव्यक्ति दिएका थिए । दासले अक्टोबर ३१ मा दिएको एउटा अभिव्यक्तिमा आर्थिक गतिविधि बढेसँगै केही सुरुवाती आँकडा प्राप्त भएका छन् र नोभेम्बरको अन्तसम्ममा दोश्रो त्रैमासको दौरान आउने जीडीपी ग्रोथको नयाँ आँकडा अझ सबैलाई अचम्म पार्ने खालको हुनसक्ने दाबी गरिएको थियो ।

विश्वभरका विभिन्न अर्थतन्त्रहरुको जीडीपी लाइभलाई हेर्दा भारतले १८ नोभेम्बरमै ४ ट्रिलियन डलर उचाई पार गरिसकेको थियो । हाल चौथो ठूलो अर्थतन्त्रको रुपमा जर्मनी रहेको छ । उसको जीडीपीको साइज ४.२६० ट्रिलियन डलर रहेको छ ।