काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी तथा बर्कसायर हाथवे कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेट अन्तत : भारतीय बजारबाट ठूलो घाटा ब्यहोर्दै बाहिरिएका छन् । 

उनी बजारमा आउनु पूर्व चर्चामा रहेको भारतीय फिनटेक कम्‍पनी पेटीएममा संस्थापक सेयरधनी थिए । उक्त कम्पनीले लगातार घाटा बेहोरिरहेपछि सबै सेयर बिक्री गरेर उनी  बाहिरिएका हुन् । उनको बर्कशायर हाथवेले फिनटेक कम्पनी पेटीएमबाट आफनो सम्‍पूर्ण हिस्‍सा ओपन मार्केटमार्फत् १ हजार ३७० करोड भारुमा बिक्री गरेको हो ।

जसमा उनलाई ६०० करोड भारु नोक्‍सान भएको एजेन्सीहरुले आफ्नो समाचारमा उल्लेख गरेका छन् ।कम्पनीले सन् २०२१ मा आईपीओ निष्कासन गरेको थियो ।कम्पनीको आईपीओले दोस्रोबजारमा सूचीकृत भएलगत्तै लगातार ओरालो यात्रा तय गर्नुपरेको थियो । सन् २०२१ नोभेम्बर यतादेखि नै कम्पनीको सेयरभाउ ४२ प्रतिशतले गिरावट आएको छ । 

नेशनल स्‍टक एक्‍चेन्‍ज(एनएसई) का अनुसार, गत शुक्रबार बल्‍क डिलमा उक्त कम्पनीको  १.५६ करोडभन्‍दा बढि कित्ता सेयर बिक्री भएको छ ।  सो परिमाणको सेयर सोहि कम्‍पनीका अन्य दुई जना लगानीकर्ता र अन्यले खरिद गरेका छन्।
बर्कशायर निस्कनुअघि जापानी कम्पनी सफ्टबैंक समूहले सेयर घटाइसकेको छ भने चीनको अलिबाबा समूहले आफ्नो सम्पूर्ण सेयर बिक्री गरिसकेको छ । गत सेप्टेम्बरमा पेटीएमका सीईओ विजय शेखर शर्माले आफ्नो हिस्सेदारी बढाउन तयार रहेको बताएका थिए। उनी कम्पनीको सबैभन्दा ठूलो सेयरहोल्डर हुन् ।

कम्पनीको सेयरभाउ प्रतिकिता ८९२ भारु रहेको छ ।

उनलाई सेयर बजारको बिग बुल भनेर चिनिन्छ। सेयर बजारमा लगानी गरेर अर्बौंको सम्पत्ति आर्जन गरेका छन्। अहिले उनी विश्वका धनीहरुको सूचीमा पाँचौ स्थानमा छन्। ९३ वर्षीय वारेन बफेटको नेटवर्थ १२० बिलियन डलर छ।
उनले सेयरबजारमा सँधै नाफामात्र होइन घाटा सहन सक्ने क्षमता पनि लगानीकर्तामा हुनुपर्ने सन्देश दिने गरेका छन् ।
-एजेन्सी