काठमाण्डौ । आन्तरिक गडबडी, राष्ट्र बैंकको नेतृत्व र अर्थमन्त्रीबीचको तिक्तता तथा एकअर्कालाई असहयोग गर्ने नीति लगायतका कारण नेपाली अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको छ । 

अर्थतन्त्रलाई चलायमान बनाइराख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनशक्ति दिनहुँजसो हजारौंको संख्यामा विदेशिइरहेको छ ।

अर्थतन्त्र ठीक पार्ने जिम्मेवारी बोकेकाहरु भने आपसी भागबण्डा, घोटाला र कमाउधन्दामै व्यस्त छन् । यस्ता गलत प्रवृति र खराब तस्विरहरुका लागि नेपालको अर्थतन्त्रले अभूतपूर्व चुनौतिको सामना गर्नुपर्ने विकराल अवस्था आउनसक्ने सम्भावना देखिँदैछ । 

नेपाली हावापानी, रीतिरिवाज, भाषा लगायतसँग धेरै मेल खाने तथा तीनतिरको सीमाना रहेको सबैभन्दा नजिकको छिमेकी भारतको अर्थतन्त्रले भने यही बेला गति लिइरहेको छ । त्यहाँबाट अनपेक्षित र उत्साहजनक आँकडाहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । 

नरेन्द्र मोदी नेतृत्वको सरकारले लिएको सही आर्थिक नीति तथा त्यहाँको सरकार र केन्द्रीय बैंकबीचको राम्रो सहकार्यका कारण विश्वभरका कैयन शक्तिशाली मुलुकहरुको अर्थतन्त्र समस्यामा परिरहेको बेला भारतले भने उत्साहजनक गति समातेको हो । 

नोभेम्बर ३० सम्मको भारतको जीडीपीको आँकडा बाहिर भएसँगै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीट गर्दै खुशी प्रकट गरेका छन् । खासमा जारी वित्त वर्षको दोश्रो त्रैमासमा पूर्वअनुमानभन्दा निकै राम्रो जीडीपी ग्रोथ भएकोमा भारतीयहरु खुशी छन् । यो अवधिमा केन्द्रीय बैंकले सुरुमा ६.८ प्रतिशतको जीडीपी ग्रोथ हुने अनुमान सार्वजनिक गरेको थियो । तर, अनुमान गरेभन्दा बढी अर्थात ७.६ प्रतिशतको जीडीपी ग्रोथ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

मोदीले ग्लोबल चुनौतिहरुको बाबजुद देशको अर्थतन्त्रले गति लिएको भन्दै खुशी प्रकट गरेका छन् । 

आर्थिक वृद्धिदरले गति लिएसँगै भारतको सेयर बजारमा समेत उछाल आएको छ । 

गत हप्ता भारतीय सेयर बजारले अलटाइम हाईको इतिहास बनाएको छ । साताको सुरुवातमै बजारले ४ टिलियन डलरको मार्केट क्यापको आँकडा पार गरेको थियो । विश्वका ठूलो ५ स्टक मार्केटहरुको सूचीमा भारत पाँचौ स्थानमा छ । 

जीडीपी ग्रोथको उत्साहजनक आँकडालाई शुक्रबार भारतीय सेयर बजारले निकै जोडदार ढंगले स्वागत गरेको थियो । निफ्टीले अलटाइम हाईको नयाँ उचाई चुम्यो । निफ्टीले २०२९१.५५ अंकको नयाँ हाईको इतिहास रचेको हो । सेयर बजारमा अझ सुखद दिनहरु आउनसक्ने विश्लेषकहरुले दाबी गरिरहेका छन् । 

अक्टोबर महिनामा भारतको कोर सेक्टरको वृद्धिदर पनि उत्साहजनक रहेको बताइएको छ । वित्त वर्ष २०२३-२४ को अगस्टपछि दोश्रोपटक कोर सेक्टरले दोहोरो अंकको वृद्धिदर हासिल गरेको छ । यो सेक्टरको वृद्धिदर १२.१ प्रतिशत रहेको हो । 

आँकडा अनुसार अक्टोबरमा कोइलाको उत्पादनमा गत वर्षको अक्टोबरको तुलनामा १८.४ प्रतिशत, स्टीलमा ११ प्रतिशत, सिमेन्टमा १७.१ प्रतिशत, खाद्यान्नमा ५.३ प्रतिशत, प्राकृतिक ग्यासमा ९.९ प्रतिशत, रिफाइनरी उत्पादनमा ४.२ प्रतिशत तथा कच्चा तेलमा १.३ प्रतिशतको बढोत्तरी भयो । 

कोर सेक्टरमा आठ प्रमुख क्षेत्र सामेल छन् । जसमा कोइला,, कच्चा तेल, प्राकृतिक ग्यास, रिफाइनरी उत्पादन, खाद्यान्न, स्टील, सिमेन्ट तथा बिजुली रहेका छन्  

अक्टोबरमा सबैभन्दा बढी विद्यूतको उत्पादन बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा विद्युतको उत्पादन २०.३ प्रतिशतले बढेको हो । 

जिएसटी(राजस्व तथा कर) संकलनको क्षेत्रमा समेत मोदी सरकारले शानदार सफलता हासिल गरिरहेको छ । २०२३ नोभेम्बरमा १६७९२९ लाख करोड रुपैयाँ बराबरको जिएसटी कलेक्सन भएको छ । जसमा वार्षिकीकृत आधारमा १५ प्रतिशतको बढोत्तरी देखिएको छ।

यसबाहेक भारतको उत्पादनको क्षेत्रमा समेत नोभेम्बरमा सुधार भएको छ । एस एण्ड पी ग्लोबल पीएमआई ५५.५ बाट बढेर ५६ प्रतिशत पुगेको छ । यसले निकै राम्रो अपरेटिंग कण्डिसनलाई झल्काउँछ । नियमअनुसार यस्तो रिडिंग यदि ५० भन्दा माथि भयो भने यसको अर्थ ग्रोथ हो । यदि यो ५० भन्दा कम भयो भने त्यसले गिरावट देखाउँछ । 

अक्टोबरमा देखिएको केही मन्दीपछि नोभेम्बरमा ग्राहकहरुबाट आएको बढ्दो माग तथा इनपुटको निकै राम्रो उपलब्धताका कारण उत्पादनमा वृद्धि देखियो । 

यसैगरी, कच्चा तेलको मूल्यमा आएको लगातारको गिरावटले पनि सरकारको ढुकुटीमा कम दवाब पर्यो । 

बैंकिंगको शानदार प्रदर्शन
नेपालका बैंकहरु समस्याग्रस्त बनिरहेका बेला भारतीय बैंकले भने इतिहासकै सबैभन्दा राम्रो प्रदर्शन गरे । 

जारी वित्त वर्षमा भारतका बैंकहरुले एकदशकमै सबैभन्दा धेरैलाई रोजगारी दिए । 

इकोनोमिक टाइम्सको एक रिपोर्टअनुसार आउने वित्त वर्षमा २०२३ को भन्दा भारतीय बैंकिंग क्षेत्रको राम्रो वृद्धिदर कायम हुनेछ र रोजगारीको सिर्जनामा नयाँ रेकर्ड बन्नेछ । 

आरबीआईका अनुसार २०२३ मा निजी तथा सरकारी बैंकहरुले १ लाख २३ हजार नयाँ जनशक्तिलाई रोजगारी दिए । गत १० वर्षमा यो सबैभन्दा बढी हो । 

वित्त वर्ष २०२३ मा कर्मचारीको संख्या २०२२ को तुलनामा ६१ प्रतिशतले बढेको छ । 

कुल कर्मचारीको संख्या वार्षिकीकृत आधारमा ७.४ प्रतिशतले बढेर १.७६ मिलियन भएको छ । 

वित्त वर्ष २०११ मा भारतको बैंकिंग क्षेत्रमा हालसम्मकै धेरै अर्थात १ लाख २५ हजारले रोजगारी पाएका थिए । २०१२ मा पनि १ लाख २४ हजारले बैंकहरुमा रोजगारी पाएका थिए । 

एक रिपोर्टअनुसार भारतका १५ मुख्य र टप बैंकहरुले प्रत्येक वर्किंग डेमा औसतमा ३५० कर्मचारीलाई भर्ति गरे । 

सो अध्ययनका अनुसार एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, एक्सिस बैंक, कोटक महिन्द्रा बैंक, इण्डसइण्ड बैंक, आईएडीएफसी फस्र्ट बैंक, बन्धन बैंक तथा एयू बैंकले धेरै रोजगारी सिर्जना गरे । 

रिटेल लोनमा भइरहेको बढोत्तरी, हाउजिङमा सिर्जना भएको उच्च माग तथा अर्थतन्त्रमा देखिएको तीव्र गतिको वृद्धिका कारण बैंकहरुले निकै ठूलो संख्यामा कर्मचारी भर्ति गरिरहेका विश्लेषकहरुले बताएका छन् । 

अब भारतका बैंकहरु निकै वृहत रुपमा अर्धशहरी तथा ग्रामीण क्षेत्रमा पसिरहेका छन् । यहीकारण पनि कर्मचारीको निकै ठूलो डिमाण्ड रहेको छ । 

अर्को एक आँकडाअनुसार एचडीएफसी, आईसीआईसीआई र बन्धन बैंकले मात्रै चालु वित्त वर्षको पछिल्लो ६ महिनामा मात्रै ४० हजार कर्मचारी नियुक्त गरे।