काठमाण्डौ ।भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ ।

भारतमा राजनीतिक स्थिरताको सम्भाबनालाई ध्यानमा राख्दै विदेशी पोर्टफोलियो लगानीकर्ता(एफपीआई)ले डिसेम्बर महिनामा ५७,३०० करोड भारतीय रुपया(भारु) भन्दा धेरै रकम भारतीय सेयर बजारमा खन्याएका हुन् ।

यसको पछाडि भारतको आर्थिक बद्धिदरलाई मजबुती प्रदान गर्ने आकडा र अमेरिकी बोन्ड प्रतिफलमा निरन्तर गिरावट हुनु मुख्य कारण रहेको बताइएको छ ।

यसका साथै त्यहाँ सकारात्मक राजनीतिक तथा आर्थिक वातावरणका बीच यो वर्ष भारतीयबजारमा एफपीआईको कुल लगानी १.६२ लाख करोड भारुभन्दा बढी पुगेको छ । 

आर्थिक जानकारहरुले वित्तीय वर्ष २०२४ मा अमेरिकी ब्याज दरमा कमी आउने र सन् २०२४ मा विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा आफ्नो उपस्थिति अझै तीब्र बनाउने आकलन गरेका छन् । 

आकडातर्फ हेर्दा डिसेम्बर महिनामा भारतीय इक्वीटी बजारमा ५७ हजार ३१३ करोड भारु विदेशी लगानी भएको छ । जुन रकम चालू वित्त वर्षको एक महिनाको अवधिमा गरिएको सबैभन्दा धेरै हो । यसअघि एफपीआईले अक्टोबर महिनामा ९ हजार करोड भारु लगानी गरेको थियो ।

तर पनि अगस्ट र सेप्टेम्बर महिनामा भने विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट ३९ हजार ३०० करोड भारु निकासी गरेका थिए । 
भारतको स्थिर र बलियो अर्थव्यवस्था,कम्पनीहरुको आयमा आएको बढोत्तरी र आईपीओ निष्कासनमा विदेशी लगानीकर्तालाई दिइएको प्राथमिकताले भारतीय सेयर बजारप्रति विदेशी लगानीकर्ता आकर्षित भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विदेशीहरुले भारतमा विशेष गरेर वित्तीय सेवा क्षेत्रमा सर्वाधिक लगानी गरेका छन् । यसमा साथै वाहन,पूँजीगत सामग्री र दूरसञ्चार जस्ता क्षेत्रमा समेत उनीहरुले चासो देखाएका छन् ।  -एजेन्सी