काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि फागुन २५ गतेदेखि १ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ।
मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।
यस्ता छन् विशेषताहरु
क. सिक्काको अग्र भागमा
- सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको।
- ६४ थोप्लाहरुको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको।
- सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको।
- नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको।
ख. सिक्काको पृष्ठ भागमा
- सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको।
- ८ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र सो आकृतिको मुनि अंग्रेजीमा SAGARMATHA NEPALलेखिएको।
- सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको।