काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भोलि बिहीबार बस्दैछ। बैठक बिहान १० बजे डाकिएको छ। बैठकमा वाणिज्य बैंकहरुका सीईओहरुको सहभागिता रहनेछ। 

बैठकले साउन महिनाको ब्याजदरबारे निर्णय गर्ने एनबीएका सीईओ अनिल शर्माले जानकारी दिए। ‘साउनमा ब्याजदर के गर्ने भनेर बैंकहरुबीच औपचारिक र अनौपचारिक छलफल भएको छैन’, शर्माले भने, ‘भोलिको बैठकले ब्याजदरबारे निर्णय गर्न सक्छ।’

अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण गर्नेभन्दा पनि आआफ्नो हिसाबले ब्याजदर तोक्ने विषयमा बढी जोड दिइरहेको स्रोत बताउँछ। ‘अर्थमन्त्री पनि बैंक ब्याजदर घटाउनुपर्छ भन्ने पक्षमा रहेका छन्, यो हिसाबले ब्याजदर घट्ने सम्भावना छ’, स्रोतले भन्यो। 

अर्कोतर्फ अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ तर कर्जा लगानीको अवस्था सुस्त रहेको छ। जसका कारण बैंकहरु न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन तयार भइरहेका छन्। ‘बैंकिङ प्रणाली निक्षेप थुप्रिएको छ’, स्रोतले भने, ‘त्यसैले साउनमा ब्याजदर घटाउने पक्षमा धेरैजसो बैंकहरु देखिएका छन्।’

पछिल्लोपटक बैंकहरुले वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए। 

सोही ब्याजददरलाई वाणिज्य बैंकहरुले जेठमा पनि कायमै राखेका थिए भने असारमा पनि त्यसैलाई निरन्तरता दिएका छन्। 

कर्जाको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत असार मसान्तसम्म १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्नेछ।