काठमाण्डौ । मधेश प्रदेशअन्तर्गत धनुषा जिल्लामा बैंक तथा वित्तीय संस्थाका शाखा सबैभन्दा बढी रहेको पाइएको छ। 

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सबैभन्दा बढी धनुषामा बैंक तथा वित्तीय संस्थाका २४२ शाखा रहेको तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकअनुसार सबैभन्दा कम रौतहटमा १८० शाखा रहेको छ। 

समीक्षा अवधिमा मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या १ हजार ७०३ रहेको छ। जुुन गत वर्षको सोही अवधिमा कुल शाखा १ हजार ५ सय १३ मात्रै रहेको थियो। सञ्चालनमा रहेका शाखामध्ये वाणिज्य बैंकका ५५९, विकास बैंकका ८२, वित्त कम्पनीका ३१ र लघुवित्त वित्तीय संस्थाको १ हजार ३१ शाखा छन्। 

समीक्षा अवधिमा यस प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा ९ हजार ६ सय ३६ जना कर्मचारी कार्यरत छन्। जसमध्ये सबैभन्दा बढी कर्मचारी पर्सामा १ हजार ५०३ जना र सबैभन्दा कम कर्मचारी रौतहटमा ९१३ जना रहेका छन्। 

यस्तै सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले वृद्धि भएको छ। 

राष्ट्र बैंकका अनुुसार कुल निक्षेप २ खर्ब ४७ अर्ब ९ करोड पुगेको छ। जुुन गत वर्षको सोही अवधिमा २ खर्ब १८ अर्ब २० करोड रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ३७.२९ प्रतिशतले वृद्धि भई ४ खर्ब २४ अर्ब १४ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४.२२ प्रतिशतले वृद्धि भई खर्ब ८ अर्ब ९४ करोड पुगेको थियो।