– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको अर्थतन्त्रमा अहिले तरलता अभाव भएसँगै वित्तीय संस्थाहरुमा निक्षेप घटेकाले बजारको मागअनुसार कर्जा प्रदान गर्न सकेका छैनन्। केही महिना अघिसम्म ६–७ प्रतिशत ब्याजदरमा कर्जा दिने बैंकहरुले अहिले तरलताको प्रभावका कारण निक्षेपमा नै ग्राहकलाई ९–१० प्रतिशत ब्याजमा दिन सुरु गरेका छन्।

अहिले धेरैजसो बैंक साथै अन्य वित्तीय संस्थाकाका कर्मचारी ब्रोकर अफिस, कर्पोरेट हाउसका साथै व्यवसायीकोमा निक्षेपमा कर्जाका विभिन्न स्किमहरु लिएर धाउन थालेका छन्। ‘एउटा बैंकका कर्मचारी बचत खातामा पैसा डिपोजिट गर्ने आग्रह गर्दै आएका थिए’, एक ब्रोकरले भने, ‘दसैँको उपहार दिन आएको भन्दै अहिले विभिन्न बैंकका कर्मचारीहरु बैंकमा पैसा डिपोजिट गर्ने आग्रह गर्दै आउन थालेका छन्। तरलता अभावले अहिले ब्रोकर, बैंक, लगानीकर्ता, व्यवसायी सबै मारमा परेका छन्।’

नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली भने तत्कालै तरलता अभाव सहज नहुने बताउँछन्। ‘अहिले तरलता अभाव हुनुको पछाडि मुख्य दुई कारण छन्’, ज्ञवाली भन्छन्, ‘पहिलो सरकार परिवर्तन भएसँगै बजेट फ्रिज हुनु र दोस्रो मौद्रिक नीतिमा ९० प्रतिशत सीडी रेसियो कायम हुनु।’

‘अहिले धेरैजसोको बुझाइ बैंकरहरुले प्रक्षेपण गर्न नसकेकाले तरलता अभाव भएको भन्ने छ। जुन गलत बुझाइ हो’, ज्ञवाली भन्छन्, ‘बैंकरहरुलाई दुई तिहाइको सरकार ढलेर अर्को सरकार गठन हुँदै गर्दा बजेट फ्रिज हुन्छ, राष्ट्र बैंकले सीसीडी रेसियोबाट सीडी रेसियो ९० प्रतिशत कायम हुने सर्कुलर जारी गर्छ भन्ने प्रक्षेपण गर्ने सक्ने भए आज बैंकरहरु बैंकर नभएर ज्योतिषी हुन्थे।’

‘सरकार परिवर्तन भएसँगै केही दिन बजेट फ्रिज भएकाले सरकारको खातामा नै पैसा रह्यो, जसले गर्दा १२५ देखि १५० अर्बको फरक पर्यो’, ज्ञवालीले भने, ‘सरकार परिवर्तन भएसँगै देउवा सरकारले ओली सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न नसक्दा स्थानीय, प्रदेश सरकारले विकासमा खर्च गर्न सकेनन्। यसका साथै ऋण ब्याजमा ग्रोथ हुन् सकेन, निक्षेपमा वृद्धि हुन् नसकेकाले अहिले यो समस्या खडा भएको हो।’ 

ज्ञवालीका अनुसार अहिले बजारमा कुनै एउटा निश्चितभन्दा पनि समग्र सबै कारकहरुको सञ्चीय असरले तरलताको अभाव सिर्जना भएको हो। ‘विगतको ट्रेन्ड हेर्दा पनि दसैँतिहारमा आयात बढ्ने, कर्जा बढ्नुका साथै निक्षेप कम हुने गरेको छ। त्यसैले तरलता आजको भोलि नै सहज हुने आधारहरु कम छन्’, उनले भने।