काठमाण्डौ । सन् २००८ मा आएको मन्दीका कारण आज स्पेनको एउटा गाउँ बेच्नुपर्ने अवस्थामा पुगेको छ। 

स्पेन र पोर्चुगलको सीमामा रहेको साल्टो डे क्यास्ट्रो गाउँ २ लाख ६० युरो (३ करोड ४५ लाख ८० हजार रुपैयाँ) मा बिक्री हुन लागेको हो। विगत तीन दशकदेखि गाउँ सुनसान छ। त्यहाँका भवनहरु जीर्ण र भत्किएका छन्। 

सन् २००० मा एक व्यक्तिले गाउँलाई विकास गर्ने उद्देश्यले किनेका थिए। तर, २००८ को मन्दीले ती व्यक्तिको योजनाहरु चौपट भयो र साल्टो डे क्यास्ट्रो गाउँको विकास हुन सकेन। 

जामोरा प्रान्तमा पोर्चुगलको सिमानामा अवस्थित यो गाउँ म्याड्रिडबाट तीन घन्टाको दूरीमा अवस्थित छ। साल्टो डे कास्ट्रोमा यस्ता धेरै भवन छन्, जसलाई सानो स्पेनी सहरका रुपमा देख्न सकिन्छ। गाउँमा ४४ वटा घर, एउटा होटेल, चर्च, विद्यालय, स्विमिङ पुल र सिभिल गार्ड बस्ने ब्यारेक भवन पनि छन्। यी सबै पूर्वाधारका बाबजुद साल्टो डे क्यास्ट्रोमा मानिसहरु बसोबास गर्दैनन्। यो गाउँ तीन दशकअघि मानिसहरुले छाडेका थिए।

ग्यालिसियाका एक व्यक्तिले सन् २००० को सुरुमा यो गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले किनेका थिए। तर, युरोजोन संकटले ती व्यक्तिको योजनालाई उल्ट्यायो। 

मिडिया रिपोर्टका अनुसार खरिदकर्ताको प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोनी रोड्रिगेजले भने, ‘यो गाउँका मालिकको त्यहाँ होटल बनाउने सपना थियो, जुन पूरा हुन सकेन।’

सम्पत्ति आइडिया लिस्ट वेबसाइटमा बिक्रीका लागि सूचीबद्ध छ। मालिकले वेबसाइटमा भनेका छन्, ‘म सहरवासी हुँ र गाउँको मर्मतसम्भार गर्न नसक्ने भएकाले बेच्दैछु।’ 

उक्त गाउँका बारेमा रुस, फ्रान्स, बेल्जियम र बेलायतबाट सोधपुछ आएको रोड्रिग्जले बताए। ‘३०० जनाले किन्न चासो देखाएका छन्’, उनले भने, ‘सम्भावित खरिदकर्ताले बुकिङ गर्न पैसा जम्मा गरिसकेका छन्।’ 

साल्टो डे क्यास्ट्रो विद्युत उत्पादन कम्पनी इबर्डुएरोले सन् १९५० को सुरुमा गाउँ नजिकै जलाशय निर्माण गर्ने कामदारका परिवारका लागि निर्माण गरेको थियो। काम सकिएपछि मजदुरहरु यो गाउँ छाडेर गएका थिए। सन् १९८० को दशकमा यो गाउँ पूरै खाली भइसकेको थियो। अब यसलाई किन्ने जोकोहीले पनि ठूलो चुनौतीको सामना गर्नुपर्नेछ। किनकि साल्टो डे क्यास्ट्रोलाई यसलाई विकास गर्न ठूलो रकम चाहिन्छ। –एजेन्सी