काठमाण्डौ । मर्चेन्ट बैंकिङको काम गरिरहेका कम्पनीहरुले विद्यमान चुक्तापूँजीमा ३ देखि ५ गुणासम्मको वृद्धि गर्नुपर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीमा भारि वृद्धिको प्रस्तावसहित अस्तित्वमा रहेको सो सम्बद्ध नियामवली संसोधनको तयारी थालेको हो । 

‘हामीले २३ वटाको संख्यामा रहेका मर्चेन्ट बैंकहरुको पूँजीमा ३ देखि ५ गुणासम्म वृद्धि गर्ने तयारी गरिरहेका छौ ।’ नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बिजशालासँग भने–‘मर्चेन्ट बैंकहरुलाई सुदृढ पार्ने र तिनीहरुको कार्यक्षेत्र समेत बिस्तार लगायतका नयाँ प्रावधान समेत समेटेर अहिलेको नियमावली संसोधन हुँदैछ ।’ उनले मर्चेन्ट बैंकहरुको पूँजीवृद्धिको निर्णय चाँडै हुने दाबी समेत गरे । कार्कीका अनुसार हाल अस्तित्वमा रहेका मर्चेन्ट बैंकहरुको चुक्तापूँजी २ करोडदेखि १० करोडसम्म रहेको छ । 

‘मर्चेन्ट बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भयो, थोरै चुक्तापूँजीमा यस्तो कम्पनी खोलेर त्यसले धेरै रकमको काम गर्न सक्दैन ।’ उनले भने–‘त्यसकारण स्वस्थ प्रतिस्पर्धा होस् भन्नका लागि समेत पूँजी बिस्तार र कार्यक्षेत्र सुधारलाई सँगसँगै लैजान खोजेका छौ ।’ 

त्यसअघि आइतबार साँझ एनआइसी एशिया क्यापिटल लिमीटेडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले बैंक तथा बित्तीय संस्थाको दर्ता बन्द भएजस्तै मर्चेन्ट बैंकहरुको पनि दर्ता बन्द गरिएको उल्लेख गर्दै भएका मर्चेन्ट बैंकहरुलाई समेत भनेजस्तो विजिनेश नआएको दाबी गरे । ‘कार्यक्षेत्र बिस्तार नभएका कारण यो समस्या भएको हो ।’ उनले भने–‘त्यसकारण मर्चेन्ट बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । लागत भन्दा कम शुल्कमा काम गर्छौ भनेर गलत प्राक्टिस भइरहेको छ ।’

उनले बोर्डले अबको दिनमा मर्चेन्ट बैंकहरुलाई समेत सुधार गर्ने खुलाए । ‘यस्ता संस्थाबीचको अस्वस्थ प्रतिस्पर्धा रोकिनुपर्छ ।’ उनले भने–‘उनीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण साना लगानीकर्ता बेवास्ताको शिकार भइरहेका छन्, हामी यो सबै कुरा टुलुटुलु हेरेर बसिरहन सक्दैनौ ।’ 

स्वस्थ प्रतिस्पर्धाका लागि मर्चेन्ट बैंक सवल बन्नुपर्ने र त्यसका लागि पूँजीवृद्धि हुनुपर्नेमा उनले जोड दिए । ‘हामी मर्चेन्ट बैंकहरुलाई एडभाइजरी सर्भिसको काम समेत गर्न दिने गरी अगाडि बढेका छौ ।’ उनले थपे–‘पूँजीवृद्धि र कार्यक्षेत्र बिस्तारको संसोधन पेश भइसकेको छ, केही हप्ताभित्रै पास हुन्छ ।’ 

‘मर्चेन्ट बैंकिङ’ नबुुझेका नै मर्चेन्ट बैंकका कर्मचारी !
अध्यक्ष डा. कार्कीले मर्चेन्ट बैंक संचालनका नाममा अदक्ष कर्मचारीलाई थोरै तलब दिएर राख्ने प्रवृति बढेको र यसले लगानीकर्ताले अनाहकमा दुःख पाएका आरोप लगाए । ‘यो क्षेत्रमा तालिम नै नलिएका जनशक्ति समेत मुख्य चुनौतिको रुपमा देखा परेका छन् ।’ उनले भने–‘अब हामी तालिम नलिएका कर्मचारीलाई राख्नै नपाउने नियम समेत बनाउँदैछौ । कर्मचारीलाई राख्दा उनीहरुले पाउने पारिश्रमिक र मर्चेन्ट बैंकले आफूले काम गरेबापत लिने सेवा शुल्क समेत तोक्ने तयारी गरिरहेका छौ ।’ 

आस्वा प्रणालीको अनुमति पाएका वाणिज्य बैंक र विकास बैंकहरुले समेत राम्ररी काम गर्न नसकेका उनले आरोप लगाए । ‘उनीहरुले स्वीकृति लिन मात्र हतारो देखाए, काम कसरी गर्ने भन्ने चाहि थाहै छैन ।’ उनले भने–‘आस्वाबाट प्राथमिक सेयरको आवेदन लिनुपर्दा जीरो ब्यालेन्सको प्रावधान राख्दा विकृति आयो, त्यही भएर हामीले शुल्क राख्यौं, तर यो पनि कतिपयले कार्यान्वयन गर्न खोजिरहेका छैनन् ।’ 

उनले मर्चेन्ट बैकिङ सेवालाई कमिसनमुखी बनाउनै नहुने जिकिर समेत गरे । उनले भने–‘अब मर्चेन्ट बैंकहरु पनि दक्ष र व्यवसायिक बन्नुपर्छ ।’