काठमाण्डौ । धितोपत्र बोर्डले हालै मर्चेन्ट बैंकहरुले समेत ०७५ असारभित्रमा न्यूनतम २० करोड चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाका कारण मर्चेन्ट बैंकहरुमा समेत पूँजीवृद्धिको चटारो देखिएको छ । 

यही चटारोका कारण सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सीबीआइएल क्यापिटल लिमीटेडले तोकिएको पूँजी पुर्याउन सर्वसाधारणलाई समेत २० प्रतिशत सेयर बिक्री गर्ने भएको छ।

सीबीआइएल क्यापिटलका सीइओ समीर दाहालले बिजशालासँग कुरा गर्दै हाल १० करोड रुपैयाँ रहेको बैंकको पूँजी २० करोड पुर्याउन २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ सर्वसाधारणबाट भेला पार्ने प्रस्ताव बुधबार राजधानीमा आयोजित क्यापिटलको एघारौं वार्षिक साधारणसभाबाट पारित भएको जानकारी दिए । उनका अनुसार सर्वसाधारणलाई ४ करोड बराबरको आइपीओ जारी गर्ने र त्यसबाटै लगानी जुटाइनेछ । 

पूँजीवृद्धिको नयाँ व्यवस्थापछि सर्वसाधारणमा आइपीओ जारी गर्ने सीबीआइएल देशकै पहिलो मर्चेन्ट बैंक समेत बन्ने उनको दाबी छ । निकट भविष्यमै प्रक्रिया मिलाएर सीबीआइएलले सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने उनले जानकारी दिए । आइपीओपछि यो कम्पनीका संस्थापकको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व कायम हुनेछ । 

दाहालका अनुसार बुधबार सम्पन्न वार्षिक साधारणसभाले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता(अण्डर राइटर), शेयर रजिष्टार तथा लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट)को काम गर्ने साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामूूहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सीबीआइएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी रहेको छ ।