काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिनर्जी देखिएको छ। 

साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स आपसमा मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्योरेन्स’ले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना साउनमा सबैभन्दा बढी बीमालेख जारी गर्न सफल भएको छ। 

साउनमा अधिकांश मर्जरमा गएका कम्पनीहरुको व्यवसायमा प्रगति भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। सिद्धार्थ प्रिमियरले भने साउनमा मात्रै ४२ करोड ५० लाख ४२ हजार रुपैयाँ प्रियिमय संकलन गर्न सफल भएको छ। प्रिमियम संकलनमा दोस्रो नम्बरमा भए पनि कम्पनीले साउनमा सबैभन्दा धेरै बीमालेख जारी गरेको छ। 

सिद्धार्थ प्रिमियरले साउनमा मात्रै २७ हजार १८४ वटा बीमालेख जारी गरेको छ। यसका साथै कम्पनीले १ खर्ब ३७ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ बीमांक रकमको साढे ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो। 

समग्र निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले घट्दा सिद्धार्थ प्रिमियरले साढे ४२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो। गएको वर्ष साविक सिद्धार्थ इन्स्योरेन्स एक्लैले ३० करोड ६२ लाख रुपैयाँ र साबिक प्रिमियरले २१ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो। दुई कम्पनीको साबिकको व्यवसायलाई जोड्दा ५१ करोड ८७ लाख रुपैयाँ प्रिमियम हुन जान्छ। 

यसर्थमा सिद्धार्थ प्रिमियरको गत वर्षको तुलनामा यस वर्ष बीमा शुल्क आर्जन १८.०६ प्रतिशतले घटेको छ तर समग्र निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्किँदा सिद्धार्थ प्रिमियरमा भने मर्जरको सिनर्जी देखिन पुगेको छ। 

निर्जीवन बीमा व्यवसायमा अब्बल मानिने शिखर र नेको इन्स्योरेन्सले समेत साउन महिनामा ३५ करोड रुपैयाँ प्रिमियमसमेत संकलन गर्न सकेका छैनन्। 

निर्जीवन बीमा क्षेत्रमै मन्दी छाउँदासमेत सिद्धार्थ प्रिमियरले भने अन्य कम्पनीको तुलनमा उत्कृष्ट व्यवसाय गरिरहेको तथ्यांकले देखाउँछ। पछिल्लो समय बैंकहरुको कर्जा ठप्प हुँदा मोटर बीमामा खासै व्यवसाय भएको देखिँदैन। सरकारले गत वर्ष सवारी आयातमा प्रतिबन्ध लगाएकाले पनि मोटर बीमा संख्यामा संकुचन आई निर्जीवन बीमा ब्यवसाय खस्किएको देखिन्छ। गत वर्षको तुलनामा अधिकांश निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्किएको छ। 

साउनमा १४ निर्जीवन बीमा कम्पनीको जारी बीमालेख संख्या २ लाख १३ हजार ८०६ रहेकोमा सिद्धार्थ प्रिमियरले मात्रै २७ हजार बढी बीमालेख जारी गर्न सफल भएको छ। 

कम्पनीले मेसिनरी ब्रेकडाउन (क्षति)बीमा, इन्जिनियरिङ बीमा, बैंकर्स क्षतिपूर्ति बीमा, यातायातमा नगद र सुरक्षित बीमा, मोटर बीमा, जोखिमयुक्त विद्युतीय सामग्री बीमा, सामुद्रिक बीमा तथा कार्गो बीमा, सम्पत्ति, कृषि तथा बाली बीमा लगायतका १९ वटा बीमालेखमार्फत निर्जीवन बीमा सुविधा दिँदै आइरहेको छ। 

बीमितहरुको थप सुविधालाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियरले ‘एसपीआईएल–डिजी’ प्रणालीसमेत सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलोपटक अनलाइनमार्फत बीमालेख खरिद र दाबी फर्छ्यौट गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। 

कम्पनीका अनुसार हालसम्म अनलाइनमार्फत ६० लाख २० हजार ६९९ रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ। कम्पनीले २२० वटा दाबी भुक्तानी अनलाइनमार्फत नै गरेको हो। 

यसका साथै सिद्धार्थ प्रिमियरका अनुसार ३४ लाख ३४ हजार रुपैयाँको ९२ वटा दाबी दर्ता भएको छ भने १२८ वटा दाबी दर्ताको २५ लाख ८६ हजार १७६ रुपैयाँ बराबरको क्लेम सेटलसमेत गरिसकेको छ। यसरी दाबी भुक्तानीमा समेत कम्पनीले जोड दिँदै जाने हो भने कम्पनीप्रति बीमितहरुको विश्वसनीयता बढ्दै जाने र जारी बीमालेखको संख्या अझै बढ्दै गई व्यवसायमा समेत उल्लेख्य प्रगति हुने पक्का छ।