काठमाण्डौ । मेगा बैंक लिमीटेडले टुरिजम डेभलपमेन्ट बैंकसँगको सफलतापूर्वक मर्जरपछि बैंकमा कायम संचालकहरुको नयाँ सूचि उनीहरुको शैक्षिक योग्यतासहित प्रकाशन गरेको छ । 

मेगाले नेपाल स्टक एक्सचेञ्जलाई जेठ २ गते पठाएको पत्र ३ गते बिहीबार नेप्सेको वेबसाइटमा सार्वजनिक भएको हो । जहाँ उसले मर्जरपछि कायम संचालक समितिमा रहनेहरुको नाम सार्वजनिक गरेको छ ।

मेगा बैंकले पूर्व सहमतिअनुसार टुरिजम डेभलपमेन्ट बैंकबाट मुक्तिराम पाण्डेलाई संचालकमा नियुक्त गरिएको बताएको छ । 

यस्तै, बैंकका अन्य संचालकहरुमा गोपाल खनाल, मदनकुमार आचार्य र पूर्णबहादुर खत्री रहेका छन् । अध्यक्ष चाहि भोजबहादुर शाह रहेका छन् ।

संचालकमध्ये सबैभन्दा धेरै खत्रीले पढेका देखिएको छ । उनको शैक्षिक योग्यता स्नातकोत्तर हो भने अरु सबैको स्नातक रहेको बैंकले प्रष्ट पारेको छ । 

बाफिया र त्यसका आधारमा नेपाल राष्ट्रबैंकले जारी गरेका नियमावलीहरुले वाणिज्य बैंकको संचालक हुनलाई समेत न्यूनतम शैक्षिक योग्यता तोकेको छ ।