काठमाण्डौ । नेपाल राष्ट्रबैंकले यो वर्षको मौद्रिक नीतिमा समेत बिग मर्जरको नीति ल्याएको छ । योपटकदेखि नीतिमा केही कडाई गर्दै वाणिज्य बैंकहरुको संख्या घटाउने रणनीतिमा केन्द्रीय बैंक देखिन्छ । 

ठूला बैंकहरुबीच मर्ज गराउने केन्द्रीय बैंकको नीति यसअघि पनि नआएको भने होइन । अघिल्ला गभर्नर डा. चिरञ्जिवी नेपालको पालामा समेत वाणिज्य बैंकहरुलाई आफ्नो मर्जर पार्टनर खोज्न तीव्र दवाब दिइएको थियो । यो क्रममा उदाहरणीय बनेर प्रस्तुत भएको थियो, ग्लोबल आइएमई बैंकले । यो बैंकले जनता बैंकलाई गाभेपछि हाल पूँजी र विजिनेशको आकारको हिसाबले सबैभन्दा ठूलो बैंक मान्ने गरिएको छ । जनता बैंकलाई गाभेपछि ग्लोबल आइएमई बैंकको विजिनेशमा अपेक्षित सिनर्जी आउन नसकेको टिप्पणी भइरहेको बेला यो बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बिग मर्जरका लागि उदाहरणीय ग्लोबल आइएमई बैंकमा सिनर्जी आयो कि आएन त ? हेरौं मुख्य सूचकहरुतर्फको प्रगतिको अवस्था:

ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा १ अर्ब ७३ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । ५३ लाख ९३ हजार रुपैयाँ प्रिमियको रुपमा रहेको छ । हाल यो बैंकको चुक्तापूँजी १८ अर्ब ९७ करोड रहेको छ । यसरी हेर्दा बैंकले यो वर्ष आफ्ना लगानीकर्तालाई ९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ । यो अवस्थालाई मर्जरपछि ग्लोबल आइएमई बैंकमा अपेक्षित सिनर्जी आउन नसकेको रुपमा हेर्न सकिन्छ । 

समीक्षा अवधिमा बैंकको नाफा भने बढेर ३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा २ अर्ब ७६ करोडमा सीमित थियो । नाफा बढे पनि वितरणयोग्य मुनाफा नबढ्नुमा कोरोनाका कारण सिर्जित कतिपय अनपेक्षित दायीत्वहरु मुख्य कारणको रुपमा रहेका देखिन्छ । 

अघिल्लो वर्ष ३ अर्ब ९० करोडमा सीमित संचालन मुनाफा बढेर ४ अर्ब ४० करोडको उचाईमा पुगेको छ भने ५ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानी बढी ८ अर्ब १९ करोडको उचाईमा पुगेको छ । 

बैंकले समीक्षा अवधिमा २ खर्ब १२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब कर्जा परिचालन गरेको थियो । जनता बैंकलाई गाभेपछि ग्लोबल आइएमई बैंकको विजिनेशको साइज भने ह्वात्तै बढेको यो तथ्यले समेत देखाउँछ । 

अघिल्लो वर्ष ०.५५ प्रतिशतमा सीमति खराब कर्जाको अनुपात १.८० प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड घटेर ६.२१ प्रतिशत रहेको छ। 

यस्तै, सीडी रेसियो ७३.१८ प्रतिशत, बेस रेट ८.४२ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा कायम प्रतिसेयर आम्दानीको तुलनामा यो वर्ष ६०.७३ प्रतिशतले गिरावट आएको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४४४.३८ रुपैयाँ र तरलता अनुपात २४.५८ प्रतिशत कायम भएको छ।