काठमाण्डौ । पोखरामा मुख्य कार्यालय रहेका फेवा विकास बैंक र गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः ३३.६२ र ६१.७२ प्रतिशतले नाफा बढाएका छन् । 

मंगलबार प्रकाशित बित्तीय विवरण अनुसार फेवा विकास बैंकले ६ करोड २२ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आबको यही अवधिमा यो बैंकले ४ करोड ६५ लाख मात्र नाफा आर्जन गरेको थियो । 

यो अवधिमा फेवाले १२ अर्ब १२ करोड निक्षेप संकलन गरी १० अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले ९ अर्ब ८४ करोड निक्षेप संकलन गरी ८ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको   खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड ५२ लाख रहेकोमा यो वर्ष खूद ब्याज आम्दानी वृद्धि भई १५ करोड ४७ लाखको उचाईमा पुगेको हो । 

यो बैंकको चुक्तापूँजी ९९ करोड ५० लाख रहेको छ भने जगेडा कोषमा ५५ करोड २२ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको निस्क्रिय कर्जा दर(एनपीएल) वृद्धि भएको छ । अघिल्लो वर्ष पहिलो त्रैमासमा १.३८ प्रतिशत रहेको एनपीएल यो वर्ष बढेर १.५९ प्रतिशत पुगेको हो । 

बैंकको प्रति सेयर आम्दानी २५.०२ रुपैयाँ,  प्रति सेयर नेटवर्थ १५५.५०  रुपैयाँ रहेको छ  । 

यसैगरी, गण्डकी विकास बैंकको गत वर्षको पहिलो त्रैमासमा २ करोड १ लाख नाफा रहेकोमा यो वर्ष बढेर ३ करोड २५ लाख पुगेको छ । 

यो बैंकले ५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ४ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ अर्ब ५२  करोड निक्षेप संकलन गरी ३ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५ करोड ८ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ७ करोड ४२ लाख पुगेको छ । 

यो बैंकको चुक्तापूँजी ५३ करोड ८३ लाख रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड ९३ लाख रुपैयाँ रहेको छ । 

बैंकले निस्क्रिय कर्जालाई  भने घटाएको छ । अघिल्लो वर्ष ०.७४ प्रतिशत रहेको एनपीएल यो वर्ष ०.५० प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी २४.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२९  रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.८९ गुणा कायम भएको छ । गण्डकी र फेवा  विकास बैंक एकअर्कामा गाभिने प्रक्रियामा छन् ।