काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ।
असार मसान्तसम्म मर्ज भएका ६ निर्जीवन बीमा कम्पनीले मात्रै २१ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेका छन्। १४ निर्जीवन बीमा कम्पनी र २ निर्जीवन लघुबीमा कम्पनीले असार मसान्तसम्म कुल ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा मर्जर भएका ६ कम्पनीले मात्रै साढे २१ अर्ब प्रिमियम कलेक्सन गरेका छन्।
मर्जरपछि ती कम्पनीहरुको बिजनेसमा सुधार आएको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिएको छ।
असार मसान्तभित्र सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। साविक सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा गाभिई बनेको (ब्रान्डिङ नाम) सलिकोले यो अवधिसम्म ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। तर, कम्पनीको बिजनेस अघिल्लो आर्थिक वर्षको तुलनामा भने सामान्य घट्न पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ६९ करोड बढी प्रिमियम कलेक्सन गरेको थियो।
त्यस्तै दोस्रो बढी प्रिमियम कलेक्सन गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको सिद्धार्थ प्रिमियरले असार मसान्तसम्म ४ अर्ब ४२ करोड रुपैयाँ माथिको प्रिमियम कलेक्सन गरेको छ। तर, कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा भने ६.९७ प्रतिशतले घटेको छ। साबिक सिद्धार्थ र प्रिमियरको छुट्टाछुट्टै प्रिमियमलाई मिलान गर्दा अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ७५ करोडमाथिको प्रिमियम संकलन भएको थियो।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले भने मर्जरपछि व्यवसायमा झनै उत्कृष्ट सुधार गर्न सफल भएको छ। मर्ज हुनुभन्दा अघि साबिक युनाइटेड र अजोडको प्रिमियम जोड्दा ३ अर्ब २१ करोड रुपैयाँ रहेकोमा असार मसान्तसम्म मर्जपछि कम्पनीले ३ अर्ब ४१ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६.२७ प्रतिशतले बढी हो।
त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि असार मसान्तसम्म ९.०६ प्रतिशतले प्रिमियम कलेक्सन बढाई ३ अर्ब ३८ करोडमाथिको बीमाशुल्क आर्जन गरेको छ। यसका साथै हिमालयन एभरेस्ट इन्स्योरेन्सले पनि २.११ प्रतिशतले बढाएर असार मसान्तसम्म ३ अर्ब ३५ करोडमाथि प्रिमियम कलेक्सन गरेको छ।
मर्जरमा गएका कम्पनीहरुमध्ये असार मसान्तसम्ममा सबैभन्दा कम प्रिमियम कलेक्सन सानिमा जीआईसी इन्स्योरेन्सको रहेको छ। कम्पनीले योे अवधिसम्म २ अर्ब ३२ करोड रुपैयाँमाथिको प्रिमियम कलेक्सन गरेको छ। तर, अघिल्लो आर्थिक वर्षको तुलनामा प्रिमियम कलेक्सन वृद्धिदरमा भने सानिमा जीआईसी अगाडि देखिएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रिमियम कलेक्सन १९.४८ प्रतिशतले बढाएको छ।
असार महिनाको मात्रै प्रदर्शन
असार महिनामा मात्रै मर्जरमा गएका कम्पनीहरुले २ अर्ब ८ करोड रुपैयाँ माथिको प्रिमियम कलेक्सन गरेका छन्। सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४९ करोड ३४ लाख रुपैयाँमाथि कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियरले ४० करोड ९४ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले ३६ करोड ७७ लाख रुपैयाँ, सानिमा जीआईसीले २७ करोड ६२ लाख रुपैयाँ, युनाइेटड अजोडले २७ करोड २२ लाख रुपैयाँ र हिमालयन एभरेस्टले २६ करोड १६ लाख रुपैयाँमाथि प्रिमियम कलेक्सन गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago