काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ६ वटा कम्पनी नै धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् ।
सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । दोस्रो बजारमा यी सबै कम्पनीको सेयर सूचीकृत रहेकोले लगानीकर्ताहरुमा यी कम्पनीहरुको वित्तीय अवस्थाको बारेमा बुझ्न जरुरी हुन्छ ।
मर्जरमा गएर पनि कम्पनीको वित्तीय अवस्था बलियो छ या छैन आफुले लगानी गरेको कम्पनी कतिसम्म प्रतिफल दिन योग्य छ त्यो सबै वित्तीय विवरणको अवस्थामा नै निर्भर रहन्छ । आज हामीले मर्जरमा गएका ६ वटा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणका सूचकहरुको बारेमा जानकारी दिन प्रयास गरेका छौं ।
खूद नाफाको आधारमा
निर्जीवन बीमा कम्पनीहरुमा खूद नाफाकै आधारमा आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिन सक्ने या नसक्ने अवस्था निर्धारण हुन्छ । यदि कम्पनीले उत्कृष्ट मुनाफा आर्जन गरेको छ भने कम्पनीले आफ्ना सेयरधनीलाई उत्कृष्ट लाभांश दिन सक्ने देखिन्छ ।
चालू आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीमा मर्जरको सिनर्जी देखिएसँगै तीन महिनामै १४ करोड रुपैयाँ नाफा आर्जन भएको छ ।
प्रतिसेयर आम्दानीको आधारमा
प्रतिसेयर आम्दानी(ईपीएस) कम्पनीहरुको मुख्य सूचक मानिन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रतिसेयर आम्दानी हो । दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताहरुले कम्पनीको यो सूचकको बारेमा बुझ्न जरुरी हुन्छ । कतिपय सेयरधनीहरुले कम्पनीको ईपीएसकै आधारमा कतिसम्म लाभांश बाँड्न सक्छ अनुमान लगाउन सक्छन् ।
मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये पहिलो त्रैमाससम्म सबैभन्दा बढी इपीएस सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकै छ । कम्पनीको ईपीएस १९.९६ रुपैयाँ छ । बाँकी अन्य कम्पनीको ईपीएस १० रुपैयाँ तल नै छ ।
प्रतिसेयर नेटवर्थको आधारमा
प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि कम्पनीको प्रमुख सूचक हो । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझिन्छ । जति थोरै नेटवर्थ उति धेरै दायित्व थपिने हुनाले कम्पनीको लाभांश क्षमता घट्न सक्ने सम्भावना रहन्छ ।
चालू आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी बुकभ्यालु सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ । कम्पनीको नेटवर्थ २६१.३९ रुपैयाँ रहेको छ । सबैभन्दा थोरै सानिमा जीआईसीको १३२.८० रुपैयाँ रहेको छ ।
मूल्य आम्दानी अनुपातको आधारमा
विशेषगरी धितोपत्र दोस्रो बजारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचकको भ्यालु हुने गर्दछ । कम्पनीको तत्कालको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीई रेसियो हो । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन ।
पहिलो त्रैमाससम्म सबैभन्दा कम पीई रेसियो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३५.५ गुणा छ भने सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ७९.१९ गुणा छ ।
बीमा कोषको आधारमा
बीमा कम्पनीहरुका लागि बीमा कोष अनिवार्य तथा महत्वपूर्ण सूचक हो । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम अनिवार्य रुपमा बीमा कोषमा सञ्चित गर्नुपर्ने हुन्छ । बीमा कोषको आकारकै आधारमा कम्पनी जोखिमांकनको मूल्यांकन हुने गर्दछ । बीमा कोषमा कति धेरै रकम सञ्चित छ, सोही आधारमा कम्पनीले कति जोखिम बहन गर्न सक्दछ भन्ने कुराको मापन हुन्छ ।
प्रथम त्रैमाससम्म मर्जरमा गएका ६ वटा कम्पनीमध्ये सबैभन्दा बढी बीमा कोषमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ अर्ब ६३ करोड रुपैयाँ बीमा कोषमा सञ्चित गरेको छ ।
चुक्तापूँजीको आधारमा
चुक्तापूँजी कम्पनीहरुको महत्वपूर्ण तथा मुख्य सूचक मानिन्छ । दोस्रो बजारमा कारोबार गर्नका लागि त झनै कम्पनीको चुक्तापूँजी कति छ, बुझ्न जरुरी हुन्छ । चुक्तापूँजी बढ्दै जाँदा कम्पनी बलियो भएतापनि दोस्रो बजारमा कम्पनीको सेयरभाउ घट्ने बढी सम्भावना हुन्छ ।
पहिलो त्रैमाससम्म सबैभन्दा बढी चुक्तापूँजी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ अर्ब २ करोड रुपैयाँ छ । साथै सबैभन्दा थोरै सेयर क्यापिटल युनाइटेड अजोड इन्स्योरेन्सको १ अर्ब ९० करोड रुपैयाँ छ ।
खूद दाबी भुक्तानीको आधारमा
बीमा कम्पनीहरुले वित्तीय विवरणमा खूद दाबी भुक्तानी सूचक पनि छुट्याएका हुन्छन् । खूद दाबी भुक्तानीको आधारमा कम्पनी कतिको बीमितमैत्री बनेको छ त्यो थाहा पाउन सकिन्छ । यदि कम्पनीले दाबी भुक्तानी समयमै दिएको छ भने कम्पनी बीमितमैत्री बन्दै जान्छ र कम्पनीको थप व्यवसाय बृद्धि हुन सक्छ । कम्पनीले जति धेरै बिजनेश गर्छ उति नै धेरै लगानीको दायरा बढाउँछ र दाबी भुक्तानी समेत दिने गर्दछ ।
चालू आवको असोज मसान्तसम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६८ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।
खूद बीमा शुल्कको आधारमा
बीमा कम्पनीहरुमा खूद बीमा शुल्क आर्जन सबैभन्दा प्रमुख सूचक हो । यो कम्पनीको व्यवसायको मुख्य सूचक पनि हो । खूद बीमा शुल्क आर्जनकै आधारमा कम्पनीले कति व्यवसाय भित्र्यायो त्यो पत्ता लगाउन सकिन्छ । बिजनेश बढाउँदा कम्पनीले आफ्नो लगानीको दायरा बढाउन सक्छ र आम्दानीसमेत बढ्न सक्ने सम्भावना हुन्छ ।
चालू आवको तीन महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । कम्पनीले तीन महिनामा मात्रै ६९ करोड २७ लाख रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ ।
कुल बीमालेख संख्याको आधारमा
कुल बीमालेख संख्याको आधारमा कम्पनीको व्यवसाय निर्भर रहन्छ । कम्पनीको बीमालेख संख्या जति धेरै रह्यो उति नै बिजनेस बढ्ने सम्भावना रहन्छ । असोज मसान्तसम्म सबैभन्दा बढी बीमालेख संख्या सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७९ हजार ६९६ रहेको छ ।
लगानी कर्जाबाट आयको आधारमा
बीमा कम्पनीहरुले मुख्यगरी आफ्नो व्यवसाय बढाउनका लागि लगानी तथा कर्जामा जोड दिएका हुन्छन् । बीमा कम्पनीहरुले संकलन भएको बीमाशुल्कलाई कर्जामा प्रयोग गर्ने र मुद्दती निक्षेपमा लगानी गरेका हुन्छन् । यसरी लगानी गरेको आयबाट नै कम्पनीहरुले मुनाफामा गणना गर्ने गर्दछन् ।
चालू आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी लगानी तथा कर्जाबाट आम्दानी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी गरेको छ ।
तालिकामा हेर्नुहोस् :
स्रोत : कम्पनीको वित्तीय विवरण
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19