काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले मर्जरमा जाने रणनीति बनाउने भएको छ । 

यो कम्पनीले पुस २५ गते आफ्नो २० औं साधारणसभा आह्वान गर्दै कम्पनी गाम्भे, गाभिने वा प्राप्ति गर्ने अजेण्डा समेत राखेको हो ।

अक्सर जलविद्युत परियोजनाहरुले मर्जरमा जाने प्रस्ताव अगाडि बढाइरहेका छैनन् । यस्तोमा वरुण हाइड्रोले मर्जरको कुरा विशेष अजेण्डाकै रुपमा छलफल गर्न खोजेपछि उसको रणनीति सोहीअनुसार तय भइरहेको अनुमान गर्न सकिन्छ । 

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि खालको लाभांश वितरण नगर्ने देखिएको छ । यहीकारण एजीएममा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखिएको छैन । 

काठमाण्डौको चण्डौलस्थित कुण्डलिनी ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको साधारणसभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत समेत प्रस्तुत भई छलफलपछि पारित गर्ने कार्यक्रम रहेको छ । 

सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाहीहरु अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदनहरु स्वीकृत गर्ने लगायतका अजेण्डा पनि एजीएममा पेश हुनेछन् ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्नेछ । यो कम्पनीको साधारणसभामा सहभागी हुन चाहनेले पुस १२ गतेभित्र सेयरधनी भइसक्नुपर्नेछ ।