काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमा कम्पनीहरुमा कर्मचारीको संख्या ४.८६ प्रतिशतले घटेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार यसअवधिसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीका ५७८ कर्मचारीहरु पलायन भएका छन् ।
बीमा प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुमा फोर्स मर्जरको नीति ल्याएका कारण लगभग दुई दर्जन बीमा कम्पनीहरु मर्जरमा सामेल भएका थिए । निर्जीवन बीमातर्फ १२ कम्पनी र जीवन बीमातर्फ ९ वटा कम्पनीहरु एकआपसमा गाभिएका थिए ।
करिब दुई दर्जन बीमा कम्पनीहरु मर्ज हुँदा कम्पनीको शाखा कार्यालय र कर्मचारीको संख्या घट्न पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जीवन बीमातर्फ ८.४९ प्रतिशतले घटेर कर्मचारीको संख्या ६ हजार १८२ सीमित भएका छन्, भने निर्जीवन बीमातर्फ ०.९३ प्रतिशतले घटेर कर्मचारीको संख्या ५ हजार ७०७ मा सीमित भएको छ ।
तुलनात्मक रुपमा निर्जीवनतर्फ भन्दा जीवन बीमातर्फका कर्मचारीहरु धेरै पलायन भएका छन् । जीवन बीमा कम्पनीहरुले एकआपसमा मर्ज हुँदा स्वेच्छिक अवकाश योजनासमेत ल्याएका थिए ।
स्वेच्छिक अवकाश योजना बमोजिम मर्जरमा सामेल भएका कम्पनीका केही कर्मचारीहरुले अवकाश योजना लिई पलायन भएका हुन् ।जसमा सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ र हिमालयन लाइफले स्वेच्छिक अवकाश योजना ल्याएका थिए भने सानिमा रिलायन्स लाइफले भने उक्त योजना ल्याएको थिएन ।
त्यस्तै, यता मर्जरकै कारणले बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १५.८२ प्रतिशतले घटेको छ । गत वर्षको भदौ मसान्तसम्म ३ हजार ३६२ रहेको बीमा कम्पनीको कुल शाखा कार्यालय यस अवधिसम्म ५३२ वटा घटेर २ हजार ८३० मा सीमित भएको छ ।
बीमा कम्पनीहरु एकआपसमा मर्ज हुँदा एकै स्थानमा रहेका साविकका शाखा कार्यालय समेत मर्ज गर्नुपर्ने हुँदा शाखा कार्यालयको संख्या घट्न पुगेको प्राधिकरणले जनाएको छ ।
जीवन बीमा कम्पनीको शाखा कार्यालय २०.९४ प्रतिशतले घटेर २ हजार २९७ वटामा सीमित भएको छ भने निर्जीवन बीमा कम्पनीको शाखा ४.७९ प्रतिशतले घटेर १ हजार ६५ वटामा सीमित भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago