 
                     
                                
                             
                                    काठमाण्डौ । मर्जर भएका ६ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन्।
मर्ज भएका निर्जीवन बीमा कम्पनीहरुले वित्तीय सूचकांकमा उल्लेख्य प्रगति गरेको देखिएको छ। कम्पनीहरुको मुनाफा, बिजनेस, बीमा कोषको आकार यावतका प्रमुख सूचकहरुमा मर्जपछि कम्पनीहरु बलियो देखिएका छन्।
मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुले मात्रै औसतमा २ अर्ब रुपैयाँ माथि खुद नाफा कमाएका छन्। यसका साथै मर्जपछि ६ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म औसतमा १५ अर्ब ४६ करोडमाथिको प्रिमियम कलेक्सन गरेका छन्।
यसैबीच मर्जरपछि कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ भनी तुलनात्मक अध्ययन तयार पारेका छौँ।
खुद नाफाका आधारमा
आपसमा गाभिएका ६ निर्जीवन बीमा कम्पनीको गत आर्थिक वर्षको अन्त्यसम्म औसतमा २ अर्ब १ करोडमाथि खुद नाफा आर्जन गरेका छन्। सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले यो अवधिसम्म ५० करोड ३० लाख रुपैयाँमाथि नाफा कमाएको छ।
त्यस्तै दोस्रोमा हिमालयन एभरेस्टले ४० करोड ६ लाख रुपैयाँमाथि नाफा कमाएको छ। यसका साथै सिद्धार्थ प्रिमियरले ३६ करोड ३५ लाख, सानिमा जिआइसीले २८ करोड १ लाख, आईजीआई प्रुडेन्सियलले २६ करोड १० लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २० करोड रुपैयाँमाथि नाफा आर्जन गरेको छ।
कुल बीमाशुल्क आर्जनका आधारमा
गत आर्थिक वर्षको अन्त्यसम्म मर्जरमा सामेल भएका ६ निर्जीवन बीमा कम्पनीले साढे १५ अर्बमाथिको प्रिमियम कलेक्सन गरेका छन्। सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४१ करोड रुपैयाँमाथि कुल बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै दोस्रोमा बढी प्रिमियम कलेक्सन गर्नेमा हिमालयन एभरेस्ट रहेको छ। हिमालयन एभरेस्टले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ३५ करोड रुपैयाँ माथिको प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै सिद्धार्थ प्रिमियरले २ अर्ब ७८ करोड, आइजीआई प्रुडेन्सियलले २ अर्ब १९ करोड रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ६ करोड रुपैयाँ र युनााइटेड अजोडले १ अर्ब ६३ करोड रुपैयाँ बढी प्रिमियम कलेक्सन गरेका छन्।
बीमा कोष र जगेडा कोषका आधारमा
बीमा कोषका आधारमा भने सबैभन्दा बढी सिद्धार्थ प्रिमियम अब्बल देखिएको छ। कम्पनीले असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ कोषमा सञ्चित गर्न सफल भएको छ।
बीमा कम्पनीहरुले प्रत्येक ३–३ महिनामा सार्वजनिक गर्ने वित्तीय रिर्पोटमा बीमा कोष र जगेडा कोषमा केही प्रतिशत रकम छुट्याई देखाउनुपर्ने हुन्छ। दोस्रोमा सगरमाथा लु्म्बिनीले पनि सो अवधिसम्म २ अर्ब २८ करोड बीमा कोषमा सञ्चित गरेको छ।
त्यस्तै आईजीआई प्रुडेन्सियलले १ अर्ब ४० करोड रुपैयाँ, हिमालयन एभरेस्टले १ अर्ब २९ करोड रुपैयाँ, युनाइटेड अजोडले ७४ करोड ७२ लाख रुपैयाँ र सानिमा जिआइसीले ४२ करोड ६७ लाख रुपैयाँ सञ्चित गरेका छन्।
यसका साथै जगेडा कोषका आधारमा भने सगरमाथा लुम्बिनी नै अब्बल रहेको छ। सेयरधनीलाई लाभांश वितरणजस्ता यावत विषयलाई मध्यनजर गर्दै बीमा कम्पनीले जगेडा कोषमा रकम सञ्चित गरेको हुन्छन्। सलिकोले असार मसान्तसम्म यस्तो कोषमा ९१ करोड रुपैयाँ सञ्चित गरेको छ।
त्यस्तै सिद्धार्थ प्रिमियरले ८९ करोड रुपैयाँ, हिमालयन एभरेस्टले ६९ करोड रुपैयाँ, युनाइटेड अजोडले ६० करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ५६ करोड रुपैयाँ र सानिमा जीआईसीले ३२ करोड रुपैयाँमात्रै सञ्चित गरेका छन्।
खुद दाबी भुक्तानीका आधारमा
गत आर्थिक वर्षको अन्त्यसम्म मर्जर भएका ६ निर्जीवन बीमा कम्पनीले औसतमा ३ अर्ब ६५ करोड रुपैयाँ माथिको बीमा दाबी भुक्तानी गरेको छ। सबैभन्दा बढी सलिकोले १ अर्ब ११ करोड रुपैयाँ माथिको दाबी भुक्तानी दिएको छ। कम्पनी बीमितमैत्री बन्दै असार मसान्तसम्म १ अर्ब रुपैयाँ माथिको क्लेम सेटल गर्न सफल भएको हो।
बीमा कम्पनीहरुमा जति धेरै बीमा दाबी भुक्तानी भयो, उति नै धेरै बीमितमैत्री बन्ने अर्थात नयाँ बिजनेसहरु भित्रिने बढी सम्भावना रहन्छ। बीमितहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियरले पनि असार मसान्तसम्म ७८ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेको छ।
त्यस्तै हिमालयन एभरेस्टले ६० करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ४३ करोड रुपैयाँ, युनाइटेड अजोडले ४१ करोड रुपैयाँ र सानिमा जीआईसीले २८ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेको छ।
लगानी, कर्जा तथा अन्य आय र व्यवस्थापन खर्चका आधारमा
गत आर्थिक वर्षको अन्त्यसम्म मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३ अर्ब ७६ करोडमाथि पुर्याएको छ। लगानी, कर्जा वा पुनर्बीमा कमिसन आयमार्फत यी ६ कम्पनीले करिब पौने ४ अर्ब रुपैयाँमाथिको आम्दानी गरेको हो।
सर्वाधिक सिद्धार्थ प्रिमियरले मात्रै ८६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। त्यस्तै सलिकोले ७९ करोड रुपैयाँ, हिमालयन एभरेस्टले ६२ करोड रुपैयाँ, सानिमा जीआईसीले ५६ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ५० करोड रुपैयाँ र युनाइटेड अजोडले ४० करोड रुपैयाँ बढीको आम्दानी गरेको छ।
त्यस्तै यता मर्जरमा सामेल भएका यी निजीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा २ अर्ब ४७ करोड रुपैयाँ खर्चिएका छन्। सबैभन्दा धेरै सलिकोले ४९ करोड व्यवस्थापनमा खर्चेको छ।
त्यस्तै हिमालयन एभरेस्टले ४७ करोड ७८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले ४७ करोड २ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ३५ करोड ६३ लाख रुपैयाँ, सानिमा जीआईसीले ३५ करोड ५४ लाख रुपैयाँ र युनाइटेड अजोडले ३२ करोड रुपैयाँ व्यवस्थापनमा खर्चेको छ।
चुक्तापुँजीका आधारमा
मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुमध्ये ३ कम्पनीको मात्रै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म सबैभन्दा बढी चुक्तापुँजी आइजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ।
अन्य ३ कम्पनीको भने प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजीभन्दा कम रहेको छ। हिमालयन एभरेस्टको २ अर्ब ३० करोड रुपैयाँ, सानिमा जीआईसीको २ अर्ब रुपैयाँ र आईजीआई प्रुडेन्सियलको १ अर्ब ९० करोड रुपैयाँ रहेको छ।
बीमा प्राधिकरणले मर्जरमा गएर पनि चुक्तापुँजी अपुग भएका कम्पनीलाई कम्पनीको वित्तीय रिपोर्ट हेरेर बोनस सेयर र हकप्रद सेयर जारी गर्न दिने जनाएको छ।
ईपीएस र नेटवर्थका आधारमा
सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) महत्वपूर्ण सूचक हो। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै ईपीएस हो। लगानीकर्ताले ईपीएसकै आधारबाट कम्पनीले दिन सक्ने लाभांश अनुमान गर्न सक्छन्।
उच्च प्रतिसेयर आम्दानी धेरै लाभांश दिन सक्ने क्षमतालाई जनाउँछ। चौथो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस सगरमाथा लुम्बिनीको रहेको छ। यो कम्पनीको ईपीएस २९.३६ रुपैयाँ रहेको छ।
त्यस्तै सिद्धार्थ प्रिमियरको १८.८४ रुपैयाँ, हिमालयन एभरेस्टको १७.४१ रुपैयाँ, सानिमा जीआईसीको १४.०१ रुपैयाँ, आईजीआई प्रुडेन्सियलको १२.८५ रुपैयाँ र युनाइटेड अजोडको १०.६१ रुपैयाँ रहेको छ।
यस्तै प्रतिसेयर नेटवर्थ पनि कम्पनीको महत्वपूर्ण सूचक मानिन्छ। नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ। यो दरमा वृद्धि हुनु नै राम्रो मानिन्छ। नेटवर्थको वृद्धिदरले कम्पनीको दायित्व घटिरहेको छ भन्ने देखाउँछ। यो सूचक नकारात्मक भएमा भने कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नेटवर्थ सलिकोको रहेको छ। सलिकोको प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ रहेको छ। त्यस्तै सिद्धार्थ प्रिमियरको २२५.९१ रुपैयाँ, हिमालयन एभरेस्टको १८८.६८ रुपैयाँ, युनाइटेड अजोडको १७२.९३ रुपैयाँ, आईजीआई प्रुडेन्सियलको १६५.१२ रुपैयाँ र सानिमा जिआइसीको १३९.६५ रुपैयाँ रहेको छ।
पीई रेसियोका आधारमा
लगानीकर्ताका लागि सेयरमा लगानीका लागि मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक पनि महत्वपूर्ण मानिन्छ। कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने यो सूचकले देखाउँछ।
यसको हिसाब गर्दा सेयर बजारमा कारोबार हुँदा कायम भएको पछिल्लो मूल्यलाई लिइन्छ। यो मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निकालिन्छ। कम्पनीको मूल्य आम्दानी अनुपात १८ देखि २५ गुणा हाराहारीमा भएको राम्रो मानिन्छ।
असार मसान्तसम्म सबैभन्दा कम पीई रेसियो सगरमाथा लुम्बिनीको रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ। त्यस्तै हिमालयन एभरेस्टको ३४.४७ गुणा, सिद्धार्थ प्रिमियरको ४१.३१ गुणा, आईजीआई प्रुडेन्सियलको ४३.५८ गुणा, सानिमा जीआईसीको ४६.३९ गुणा र युनाइटेड अजोडको ४८.९१ गुणा रहेको छ।
प्रतिसेयर कुल सम्पत्तिको मूल्यका आधारमा
बीमा कम्पनीहरुले वित्तीय रिपोर्टमा प्रतिसेयर कुल सम्पत्तिको मूल्य सूचक पनि छुट्याएको हुन्छ। लगानीकर्ताका लागि सेयर खरिदमा यो पनि एउटा प्रमुख सूचक मान्न सकिन्छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति के–कति रहेको छ ? त्यसैका आधारमा जोखिमांकन मापन गर्न सकिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी प्रतिसेयर कुल सम्पत्तिको मूल्य सगरमाथा लुम्बिनीको रहेको छ। सलिकोको यस्तो मूल्य ३८४.७५ रुपैयाँ रहेको छ।
त्यस्तै सिद्धार्थ प्रिमियरको ३७५.२८ रुपैयाँ, युनाइटेड अजोडको ३०२.३७ रुपैयाँ, हिमालयन एभरेस्टको २८५.७३ रुपैयाँ, आईजीआई प्रुडेन्सियलको २१७.५५ रुपैयाँ र सानिमा जीआईसीको १९८.२४ रुपैयाँ रहेको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19