काठमाण्डौ । फोर्ब्स म्यागेजिनले हालै अमेरिकाका अलेक्जेन्डर वाङलाई विश्वको सबैभन्दा युवा सेल्फ–मेड अर्बपति घोषणा गरेको छ।
एसियाली मूलका २५ वर्षे अलेक्जेन्डरको अर्बपति बन्ने कहानी उनको उमेर जति नै छोटो छ। गणितमा रुचि भएका कारण अलेक्जेन्डर कक्षा ६ देखि नेसनल म्याथस् एन्ड कोडिङ कम्पिटिसनमा भाग लिन सुरु गरे ता कि डिज्नी वर्ल्डको निःशुल्क टिकट प्राप्त गर्न सकियोस्। उनले त्यो प्रतियोगिता त जित्न सकेनन् तर यसले उनमा कोडिङप्रतिको अभिरुचि भने बढाइदियो।
यही अभिरुचिका कारण केवल १७ वर्षकै उमेरमा अलेक्जेन्डर प्रश्नको उत्तर दिने वेबसाइट ‘कोरा’का लागि फुल टाइम कोडिङ गर्न सुरु गरे। यसबीच उनी मेसिन लर्निङ सिक्नका लागि म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा भर्ना भए। एमआईटीमा एक वर्षको पढाइपछि गर्मीको छुट्टीमा लुसी ग्युओसँग मिलेर ‘स्केल एआई’ कम्पनी स्थापना गरे।
फोर्ब्सका अनुसार अलेक्जेन्डर र लुसीको भेट कोरामा काम गर्दा भएको थियो।
एमआईटीको पढाइ बीचमै त्यागेर कम्पनी सुरु गर्ने निर्णय अलेक्जेन्डरका लागि त्यति सजिलो भने थिएन। उनका आमा–बुवा उनले पढाइ त्याग्ने विषयमा सहमत थिएनन्। अलेक्जेन्डर भन्छन्, ‘मैले उहाँहरुलाई प्रत्येक गर्मी छुट्टीमा जे काम गरिरहेको छु त्यही काम गर्छु र कलेज सुरु भएपछि काम छोड्छु भनेर सम्झाएँ।’
तर, यस्तो भएन। अलेक्जेन्डरको कम्पनीलाई फन्डिङ प्राप्त भयो र उनी फेरि कहिल्यै कलेज फर्किन पाएनन्।
अलेक्जेन्डरको सुरुआती सफलता देखेर उनका आमा–बुवाले उनलाई प्रोत्साहित गरे।
विज्ञान र गणित विषयमा उनको अभिरुचि बाल्यवस्थादेखि नै थियो। उनको भौतिकशास्त्री आमा–बुवा अमेरिकाको राष्ट्रिय प्रयोगशालामा सेनाका लागि हतियार प्रोजेक्टमा काम गर्ने गर्दथे। यही प्रयोगशालामा अमेरिकाले दोस्रो विश्वयुद्धका लागि पहिलो परमाणु बम बनाएको थियो। अलेक्जेन्डर पनि यतिबेला आर्टिफिसियल इन्टिलिजेन्समार्फत सेनालाई सहयोग गरिरहेका छन्।
अलेक्जेन्डरको कम्पनीले मानवीय क्षमताका तुलनामा अधिक तीव्रताबाट स्याटेलाइट तस्बिरको विश्लेषण गर्छ। हालै उनको कम्पनीले युक्रेनको विश्लेषण गर्दै रुसको हमलाका कारण कति नोक्सानी भयो भनेर जानकारी दिएको थियो।
फर्च्युन म्यागेजिनका अनुसार अलेक्जेन्डर अमेरिकी वायुसेना, स्थलसेना, जनरल मोटर्ससमेत ३०० भन्दा बढी कम्पनीहरुको डेटा एनालिसिस गर्छन्। अलेक्जेन्डर भन्छन्, ‘विश्वमा यत्रतत्र छरिएका जानकारीहरु जहाजमा भरिएको दस्तावेजजस्तै हो। हामीले यी डेटाहरुलाई जम्मा गर्छौं र कम्पनीका लागि विश्लेषण गर्छौं।’
अलेक्जेन्डरले ६ वर्षअघि पहिलो कम्पनीको थालनी गरेका थिए। त्यतिबेलादेखि उनले ८४७ करोड रुपैयाँको तीनवटा सम्झौता गरिसकेका छन्। बेला–बेला उनी अमेरिकाको एयर फोर्स र सेनाको आर्टिफिसियल इन्टिलिजेन्सकामार्फत सहयोग गर्छन।
गत वर्ष ४००० करोड रुपैयाँको फन्डिङ प्राप्त भएपछि कम्पनीले १२३२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। कम्पनीको मूल्य बढेर ८९७९२ करोड पुगेको छ। कम्पनीमा अलेक्जेन्डरको स्वामित्व १५ प्रतिशत रहेको छ। जुन करिब १२३२० करोड रुपैयाँबराबर हुन आउँछ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19