काठमाण्डौ । अमेरिकाको प्रमुख बैंकमा पहिलोपटक महिला सीइओ नियुक्त हुने भएकी छिन् । 

अमेरिकी बैंक सिटी गुप्रले बिहीबार जेन फ्रेजरलाई अब हुनेवाला नयाँ सीइओ घोषणा गर्दै यो इतिहास रचेको हो । 

यदि उनी बैंकको सीइओ पदमा नियुक्त हुन्छिन् भने उनी प्रमुख अमेरिकी बैंकको सीइओमा नियुक्त हुने पहिलो अमेरिकी महिला बन्ने छिन् । 

फ्रेजर अहिले सिटी(सी) उपभोक्ता बैंकको इञ्चार्ज छिन् । बैंकका वर्तमान सीइओ माइकल कोर्बट आफ्नो ३७ वर्षे लामो सेवा पश्चात सन् २०२१ को फ्रेबुअरी महिनामा सेवानिवृत हुँदैछन् । बैंकले उनको अवकास पश्चात रिक्त सीइओ पदमा फ्रेजरको नाम अगाडि सारेको हो। 

“मेलै जेनसँग धेरै वर्ष काम गरेको छु र म उनको प्रगतिबाट गौरवान्वित भएको छु । उनको नेतृत्व क्षमता, अनुभव र मूल्यमान्यताले उनलाई पक्कै पनि एउटा सक्षम र अभुतपूर्व सीइओ बनाउनेछ ।” कोर्बटले आफ्नो वक्तव्यमा भनेका छन् । 

कोर्बटले यसअघि विशाल आर्थिक मन्दीबाट सिटीलाई स्थिर राख्न सहयोग गरेका थिए भने फ्रेजरले पनि आर्थिक अनिश्चितताका बीच पनि देशको सबैभन्दा ठूलो बैंकको बागडोर सम्हाल्दैछिन् । कोरोना महामारीका कारण अहिले अमेरिकी ठूला बैंकहरुको मुनाफामा तीव्र गिरावट आइरहेको छ । 

स्मरण रहोस्, अमेरिकाका प्रमुख बैंकहरुमा महिला सीइओको इतिहास रच्ने आधार बनिरहँदा नेपालमा भने यसअघि नै निजी क्षेत्रको वाणिज्य बैंकमा महिला सीइओ नियुक्त भइसकेकी छिन् । मेगा बैंकको सीइओमा अनुपमा खुञ्जेली कार्यरत छिन् । उनी वाणिज्य बैंकको पहिलो महिला सीइओ हुन् ।