काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६१.८७ प्रतिशतले बढेर १९ करोड ३० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ करोड ९२ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले यो अवधिमा २८ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १७ करोड ९२ लाख रुपैयाँ रहेको थियो। संस्थाले समीक्षा अवधिमा यो आम्दानी पनि ५८.७१ प्रतिशतले बढाउन सफल भएको छ। 

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ५ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

चुक्तापुँजी ४३ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार ११८.२२ प्रतिशत बढाउँदै ४४ करोड ८४ लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २० करोड ५४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले खराब कर्जा (एनपीएल) मा निकै सुधार गरेको छ। गत वर्ष यही अवधिमा २.८० प्रतिशत रहेको एनपीएल अहिले घटेर १.५५ प्रतिशतमा सीमित बनेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५५.९१  रुपैयाँ रहेको छ। पीई रेसियो २६.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २०३.०७ रुपैयाँ रहेको छ।