काठमाण्डौ। भारतीय अर्बपति व्यापारी गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

यससँगै उनले भारतका अर्बपति मुकेश अम्बानीबाट एसियाकै धनी व्यक्तिको ताज खोसेका छन् । 

गत २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएपछि उनी सबभन्दा धनी व्यक्ति बनेका हुन् । योसँगै उनको कुल  नेटवर्थ ९७ अर्ब ६० करोड डलर पुगेको छ ।

बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् ।

अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गत २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको सेयरमा व्यापक कमी आएको थियो । समूहले उक्त अवधिमा ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो ।

पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिडनबर्गमाथि मुद्दानै हालेको थियो ।

सर्वोच्च अदालतले यस मामिलामा आफ्नो फैसला सुनाएपछि अदानी समूहका विभिन्न कम्पनीहरुको सेयरमूल्य हालैका दिनमा व्यापक बढेका छन् । 

साथै अदालतले सोही विषयसँग सम्बन्धित् अरु दुई ओटाको अनुसन्धानको लागि थप तीन महिना समयदिएपछि अदानी समूहलाई थप राहत मिलेको छ ।

यस्तोमा कम्पनीको बजार पूँजीकरणसँगै अदानीको सम्पत्ति पनि बढिरहेको छ । -एजेन्सी