काठमाण्डौ । मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज विश्वमै दोस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ। पहिलो नम्बरमा एप्पल रहेको छ।

फ्युचर ब्रान्ड इन्डेक्सले २०२० को सूची जारी गर्दै रिलायन्स इन्डस्ट्रिजलाई दोस्रो नम्बरमा राखेको हो। फ्युचर ब्रान्डले यो वर्ष दोस्रो नम्बरमा पर्न रिलायन्स इन्डस्ट्रिजले सबै विशेषताहरु हासिल गरेको उल्लेख गरेको छ।

फ्युचर ब्रान्डले भारतमा सबैभन्दा लाभदायक कम्पनीहरुमध्ये एक रिलायन्स इन्डस्ट्रिजलाई निकै सम्मान र नैतिकताको दृष्टि हेरिने गरेको जनाएको छ। यो ब्रान्ड सही ढंगले विकास, नयाँ उत्पादन र ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउन सफल रहेको दाबी फ्युचर ब्रान्डले गरेको छ। 

फ्युचर ब्रान्डले अब गुगल र फेसबुकले पनि रिलायन्स इन्डस्ट्रिजमा लगानी गरेका कारण अर्को वर्ष यो विश्वकै सबैभन्दा ठूलो ब्रान्ड बन्ने अपेक्षा गर्न सकिने जनाएको छ।

फ्युचर ब्रान्डले तयार गरेको सूचीको तेस्रो स्थानमा सामसुङ रहेको छ। यो सूचीमा एनभिडियो, मौताई, नाइकी, माइक्रोसफ्ट, एएसएमएल, पे–पल र नेटफ्लिक्स क्रमशः चौथोदेखि दसौँ स्थानमा रहेका छन्। – एजेन्सी