काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयबाट बिबिए, बिआइ र एमबिएमा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रक्रिया पूरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने, विभिन्न विभागअन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौतापछि शैक्षिक योग्यता हासिल गरिसकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेका बताइएको छ । 

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीयप्रबन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए ।