काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको मंसिर २५ गते पोखरामा सम्पन्न १५ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्तावअनुसार ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद समेत गरी कुल १८.५० प्रतिशत लाभांश वितरणको अजेण्डा पारित गरेको हो । 

उक्त साधारण सभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु समेत पारित गरेको बैंकले जनाएको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । 

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड  प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको समेत गरेको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।