काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागुन १९ गते “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले यस्तो कार्यक्रम विगत ५ वर्षदेखि निरन्तर संचालन गर्दै आइरहेको छ। 

यही क्रममा व्यास–०१, भादगाउँ,तनहुँस्थित  जलदेवी मावि, पोखरा–३२, गगनगौडा, कास्कीको ज्ञानज्योति विद्याकुञ्ज मा.वि.,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमा.वि.,मोदी– ०६,तिलाहार,पर्वत स्थित नवजागृत उच्चमा.वि र भरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमीटेड गरी जम्मा ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका लागि बीमाको प्रयोग, सफानोटको प्रयोग, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ?भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

ती कार्यक्रमहरुमा सो क्षेत्रका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रममार्फत कुल ४५,००० जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरिसकेको छ ।