काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १ लाख ६२ हजार ८ सय ३.०४ कित्ता सेयर लिलामीबाट बिक्री हुने भएको छ । 

बैंकले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेकोमा सेयरधनीले खरीद नगरेको सेयर बिक्रीका लागि लिलामीको प्रक्रिया सुरु हुने भएको हो । 

आगामी कात्तिक २३ गतेदेखि मुक्तिनाथ विकास बैंकको संस्थापक समूहतर्फको २७ हजार ७ सय ६५.५१ कित्ता र साधारणतर्फ १ लाख ३५ हजार ३७.५३ कित्ता सेयर लिलामी प्रक्रिया सुरु हुनेछ । 

इच्छुक लगानीकर्ताले कात्तिक ३० गतेसम्म तोकिएको स्थानमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार मुक्तिनाथ विकास बैंकमा लिलामीको सेयरमा उपत्यकाबाहिरबाट पनि आवेदन दिन मिल्नेछ । बोर्डले उपत्यका बाहिरका ७ शहरबाट पनि लिलामीको प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था गरेपछि त्यसलाई कार्यान्वयन गर्ने पहिलो बैंक मुक्तिनाथ हुने भएको छ । 

मुक्तिनाथले एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालय, मुक्तिनाथ विकास बैंकको कमलादीस्थित केन्द्रीय कार्यालय, पोखरा, वीरगञ्ज र बुटवलस्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयबाट लिलामीको प्रक्रियामा सहभागिताका लागि आवेदन दिन मिल्नेछ ।  

संस्थापक सेयरतर्फ संस्थापक सेयरधनीले मात्र र साधारण सेयरमा भने आम लगानीकर्ताले आवेदन दिनसक्नेछन् । 

लिलामीमा सहभागिताका लागि प्रतिकित्ता सेयरको मूल्य न्यूनतम १०० रुपैयाँको बोल लगाउनुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

मुक्तिनाथ विकास बैंकको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६०९ रुपैयाँ रहेको छ ।