काठमाण्डौ । मुक्तिनाथ विकास बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।
तीनवटै बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम हुने सेयरधनीहरुमात्र लाभांशको भागिदा र साधारणसभामा भाग लिन पाउनेछन्।
मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित मुक्तिनाथ विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभा मंसिर ३० गते पोखरामा गर्ने निर्णय गरेको छ ।
सभामा गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १८.५३ प्रतिशत लाभांश पारित हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश प्रयोजनका लागि) रहेको छ ।
सभाले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले विशेष प्रस्तावमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा प्राप्ति वा समाहित तथा गाभ्ने वा गाभिने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्नेलगायतका आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियार दिने अजेन्डामा पनि पारित गर्नेछ ।
यसैगरी लक्ष्मी बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा पुस ६ गते (डिसेम्बर २२) मा गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।
बैंकले चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रुपैयाँको १० प्रतिशतले हुन आउने ८९ करोड २० लाख ५० हजार ८६४.२ रुपैयाँबराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै मर्जर प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित सिभिल बैंक लिमिटेड आफ्नो नवौँ वार्षिक साधारणसभा आउँदो पुस ६ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा मुख्य अजेन्डाका रुपमा राखिने गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको ६.५७ प्रतिशतबराबरको नगद लाभांश पनि पारित हुनेछ।
सभामा मुख्य अजेन्डाका रुपमा मर्जर प्रक्रिया सुरु गर्ने प्रस्ताव पारित हुनेछ। सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्ने विषयमा सभामा छलफल हुनेछ। त्यस्तै स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी जान आवश्यक सहमति र सम्झौता गर्नेलगायतका प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय सभाले पारित गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19