काठमाण्डौ । लामो समयसम्म बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बसेर काम गरेकाहरु सोही संस्थाको संचालक तथा अध्यक्षमा आउने लहर सुरु भएको छ । 

यो क्रममा देशकै बलियो विकास बैंक, मुक्तिनाथ विकास बैंकमा समेत यस्तै घटना हुने भएको छ । 

यो बैंकको वार्षिक साधारणसभा सोमबार हुँदैछ । जुन साधारणसभाले एउटा नयाँ इतिहास रच्नेछ, अर्थात बैंकका निवर्तमान सीइओ भरतराज ढकाल संचालकको रुपमा आउनेछन् । 

बैंकस्थित उच्च स्रोतका अनुसार भिजिनरी बैंकरको पहिचान बनाए ढकालको मुक्तिनाथ विकास बैंक स्थापनामा निकै ठूलो भूमिका छ । उनकै अवधारणामा लामो समय चलेको यो बैंक कतिपय वाणिज्य बैंकभन्दा बलियो अवस्थामा पुगेको छ । उनले जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने अवधारणाको विकास गरेका हुन् । देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए । 

बैंकका संस्थापक लगानीकर्ता र अन्य सर्वसाधारण लगानीकर्ताबाट समेत भिजिनरी नेताको रुपमा भरत ढकाललाई संचालकमा ल्याउनुपर्ने माग लामो समयदेखि उठिरहेको थियो । तिनै मागहरुलाई सम्बोधन गर्ने गरी यो पटकको एजीएमले ढकाललाई संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । ‘सबै सहमति भइसकेको छ ।’ एक संचालकले भने–‘एजीएमबाट आधिकारिता पाउन मात्र बाँकी हो ।’

मुक्तिनाथ विकास बैंकमा ढकाल मात्र नभई आउन लागेका संचालक समिति निर्विरोध हुने बताइएको छ । 

सुरुमा संचालकमा निर्वाचित हुने ढकाललाई सर्वसम्मतले नै अध्यक्ष बनाउने तयारी भइरहेको स्रोत बताउँछ । 

ढकाल सीइओ हुँदा बैंकका डेपुटी सीइओको रुपमा भित्रिएका प्रद्युमन पोखरेल अहिले सीइओको रुपमा सक्रिय छन् । अध्यक्षको रुपमा ढकालको आगमनसँगै बैंकले अर्को फड्को मारी नयाँ गति लिने लगानीकर्ताहरुको विश्वास रहेको छ । 

यसअघि सिटिजन्स बैंक इन्टरनेशनलमा समेत यस्तै प्रकृतिको घटना भएको थियो । संस्थापक सीइओ राजनसिंह भण्डारीको कुलिङ पिरियड सकिएसँगै बैंकको संचालक निर्वाचित भएका थिए । संचालक समितिले उनैलाई सर्वसम्मत अध्यक्ष चुनेको थियो ।