काठमाण्डौ । देशकै बलियो विकास बैंक, मुक्तिनाथ विकास बैंकमा निवर्तमान सीइओ भरतराज ढकालको शानदार कमब्याक भएको छ । यसपटक ढकाल सीइओको रुपमा नभई बैंकको संचालक समितिको अध्यक्षको रुपमा फर्किएका हुन् । 

सोमबार पोखरामा सम्पन्न वार्षिक साधारणसभाले ढकाल लगायत ५ जनालाई नयाँ संचालकको रुपमा सर्वसम्मत निर्वाचित गरेको थियो । 

साधारणसभा सकिएलगत्तै बसेको संचालक समितिको बैठकमा ढकाल सर्वसम्मत बैंकको अध्यक्ष चुनिएका हुन् । 

भिजिनरी बैंकरको पहिचान बनाए ढकालको मुक्तिनाथ विकास बैंक स्थापनामा निकै ठूलो भूमिका छ । उनकै अवधारणामा लामो समय चलेको यो बैंक कतिपय वाणिज्य बैंकभन्दा बलियो अवस्थामा पुगेको छ । उनले ल्याएको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने अवधारणा नेपालको बैंकिङ उद्योगमै चर्चित छ । 


देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए । 

बैंकका संस्थापक लगानीकर्ता र अन्य सर्वसाधारण लगानीकर्ताबाट समेत भिजिनरी नेताको रुपमा भरत ढकाललाई संचालकमा ल्याउनुपर्ने माग लामो समयदेखि उठिरहेको थियो । तिनै मागहरुलाई सम्बोधन गर्ने गरी यो पटकको एजीएमले ढकाललाई संचालक समितिको सदस्य र अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

ढकाल सीइओ हुँदा बैंकका डेपुटी सीइओको रुपमा भित्रिएका प्रद्युमन पोखरेल अहिले सीइओको रुपमा सक्रिय छन् । अध्यक्षको रुपमा ढकालको आगमनसँगै बैंकले अर्को फड्को मारी नयाँ गति लिने लगानीकर्ताहरुको विश्वास रहेको छ । ढकाल र पोखरेलबीचको ट्यूनिङ समेत निकै राम्रोसँग मिल्ने बैंक स्रोत बताउँछ ।  

यसअघि सिटिजन्स बैंक इन्टरनेशनलमा समेत यस्तै प्रकृतिको घटना भएको थियो । संस्थापक सीइओ राजनसिंह भण्डारीको कुलिङ पिरियड सकिएसँगै बैंकको संचालक निर्वाचित भएका थिए । संचालक समितिले उनैलाई सर्वसम्मत अध्यक्ष चुनेको थियो ।