काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना प्रमुख सूचकहरुमा उत्साहप्रद बढोत्तरी गरिरहँदा देव विकास बैंकको अवस्था भने दयनीय बन्दै गएको देखिएको छ । 

पहिलो त्रैमासमा समेत गिर्दो क्रममा रहेको यो बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रदर्शन समेत खराब नै रहेको देखिएको हो । 

बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार खूद नाफा, संचालन नाफा, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा गिरावट आएको देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकको खूद नाफा ५.४८ प्रतिशतले घटेर १३ करोड २९ लाखमा सीमित बन्न पुगेको छ । 

यस्तै, २२ करोड १० लाख रहेको संचालन मुनाफा समेत घटेर २० करोड ८६ लाखमा सीमित भएको छ । 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा चुक्तापूँजीमा ५५.१३ प्रतिशतले वृद्धि भएपछि र खूद नाफातर्फ भने गिरावट आएपछि यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा ३९.०७ प्रतिशतको पहिरो गएको छ । 

प्रतिसेयर नेटवर्थ समेत ९.१८ प्रतिशतले घटेर १२४.२३ रुपैयाँमा सीमित भएको छ । 

बैंकले अन्य सूचकमा भने राम्रै प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष ३१ करोड ४८ लाख रहेको खूद ब्याज आम्दानी बढेर ३६ करोड ७३ लाखको उचाईमा पुगेको छ भने ६० करोडमा सीमित रिजर्बकोष बढेर ६१ करोड ३८ लाख पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १७ अर्ब ११ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ । बैंकले निक्षेपतर्फ २७ प्रतिशत र कर्जातर्फ ३२ प्रतिशतको हाराहारीमा प्रगति गरेको देखिएको छ । यसरी हेर्दा यो बैंकको निक्षेप र कर्जातर्फको प्रगतिबीच असन्तुलन बढेको देखिएको छ ।