काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

मेगा बैंकका सीइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सीइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

मेगा बैंकले गत बार्षिक साधारणसभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै एकसय रुपैयाँको दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता हकप्रद निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले जानकारी दिए ।

हकप्रद शेयर निश्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, चालुु आर्थिक बर्षको मुनाफापछि चुक्तापुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । 

मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत पाइसकेका प्रमुख सूचना अधिकारी एवम् बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले जानकारी दिएकी छिन् ।