काठमाण्डौ । हालसम्म चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकमध्ये अधिकांश अर्ब क्लबमा रहे पनि मेगा बैंक लिमीटेडले भने त्यो लक्ष्य प्राप्ति गर्न सकेन । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ७९ करोड १४ लाख मात्र खूद नाफा आर्जन गर्न सक्यो । तर, बैंकको अघिल्लो वर्षको भन्दा ४४ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष यो बैंकको खूद नाफा ५५ करोड १० लाखमा सीमित थियो । 

बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब १२ करोड रुपैयाँ रहेको यस्तो आम्दानी वृद्धि भई यो वर्ष १ अर्ब ७२ करोड पुुगेको छ । 

बैंकले संचालन मुनाफातर्फ पनि राम्रै फड्को मारेको छ । अघिल्लो वर्ष ७२ करोड रुपैयाँ रहेको यस्तो मुनाफा वृद्धि भई यो वर्ष १ अर्ब १८ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले ३८ अर्ब ९३ करोड निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो अवधिमा बैंकले ३० अर्ब ७५ करोड निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले रिजर्ब कोषमा २१६.२७ प्रतिशतले छलांग मारेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४० करोड ५१ लाख रहेको कोषमा यो वर्ष १ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । रिजर्ब कोष बलियो हुनुु बैंक बलियो बन्दै गएको एउटा महत्वपूर्ण संकेत हो । यसले लगानीकर्तालाई लाभांश दिने क्षमता तथा जोखिम बहन गर्नसक्ने क्षमता समेत प्रदर्शन गर्छ । 

मेगा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । यो बैंकको प्रगतिका लागि बाधा बन्नसक्ने संकेत हो । अघिल्लो वर्ष ०.७९ प्रतिशतमा रहेको यस्तो कर्जाको अनुपात बढेर यो वर्ष १.३६ प्रतिशत पुुगेको हो । ४.०२ मा सीमित कस्ट अफ फण्ड पनि बढेर ६ प्रतिशत पुुगेको छ । यो बैंकको हालको चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी १७.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.९७ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ९९६.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.५२ गुणा कायम भएको छ । 

मेगा बैंकले अघिल्लो आर्थिक वर्षमा प्रति सेयर आम्दानी १७.०४ रुपैयाँ गरेको थियो । करिब १ अर्ब पूँजी बढ्दा समेत प्रति सेयर आम्दानीलाई भने नियन्त्रणमै राख्न सकेको देखिन्छ ।