काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले निकट भविष्यमै हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । 

बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

मेगा बैंकले गत बार्षिक साधारणसभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिनुभयो । 

हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद शेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ । 

मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिससकेका बैंकले जनाएको छ । 

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको मेगा आफैंले चुक्तापूँजी पुर्याउने प्रयास सुरु गरेपछि जारी भनिएको मर्जर प्रक्रिया भाँडिएको त होइन ? भन्ने हामीले बैंकका एक अधिकारीलाई प्रश्न गरेका थियौं । ती अधिकारीले हाम्रो जिज्ञासा मेट्दै भने–‘मर्जर प्रक्रिया जारी छ, भाँडिएको होइन ।’