काठमाण्डौ । स्थापनाको सात वर्षमै पुराना वाणिज्य बैंकलाई टक्कर दिनसक्ने क्षमता विकास गर्न सकेकोमा शनिवार मेगा बैंकले आयोजना सातौ वार्षिकोत्सव समारोहमा बैंकका संस्थापक सीइओ अनिलकेशरी शाह निकै खुशी देखिन्थे । उनले कार्यक्रममा आगामी दिनमा मेगा बैंकलाई टप वाणिज्य बैंक बनाउने उद्घोष गर्दै आफ्ना केही योजना र प्रतिबद्धता समेत सार्वजनिक गरे । 

उनले विगतमा मेगा बैंक अख्तियार गरेको रणनीतिले बैंकलाई पृथक बनाएको, बैंकले सानादेखि ठूला आयोजनासम्म लगानी गरी हलोदेखि हाइडोसम्म भन्ने नारालाई सार्थक तुल्याएको, ग्राहक, ऋणि र पूँजीको आधारमा समेत बैंक मजबुत बन्दै गएको बताए । 

उनले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया निकै अगाडि बढेको उल्लेख गर्दै त्यसको प्राप्तिपछि बैंकको चुक्तापूँजी साढे ९ अर्बको हाराहारीमा पुुग्ने जानकारी दिए । त्यसपछि यो बैंक पनि देशकै ठूलो क्यापिटल बेस्ड भएको बैंक बन्नेछ । उनले भने । उनका अनुसार ‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको बताए । शाहका अनुसार गत आर्थिक बर्षमा निक्षेप संकलन ८ अर्ब बढेर ३९ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ७.४ अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह २७.८ अर्बबाट बढेर ३५.१५ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै २ लाख ६० बढेको छ । कर्जाको औसत आकार ३४ लाख र निक्षेपको १ लाख ४९ हजार रहेको छ । 

उनले आगामी दिनमा बैंकलाई विविध क्षेत्रमा लगानीका लागि आक्रामक रुपले अगाडि बढाउने उद्घोष गरे । राष्टबैंकले विपन्न वर्गका लागि लगानी गर्नुपर्ने ५ प्रतिशत कर्जा प्रत्यक्ष गर्न नपर्ने व्यवस्था हटाए पनि मेगाले भने आफैंले प्रत्यक्ष लगानीमा समेत आक्रामक बन्ने र अहिले नै माइक्रो कस्टमरको संख्या २२ हजार बढी भइसकेको जानकारी दिए । 

उनले स्थानीय निकायमा ११ र अन्य ठाउँमा ९ गरी यो आर्थिक वर्षमा २० ठाउँमा नयाँ शाखा खोल्ने जानकारी दिए । उनका अनुसार बैंकले सबै प्रदेशमा आफ्नो बलियो उपस्थिति जनाउनेछ । 

निकट भविष्यमै बैंकान्स्योरेन्स बिजिनेश समेत लञ्च भएको जानकारी दिंदे उनले नेपाल लेखेको चिपमा आधारित फोटोसहितको कार्ड समेत बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए । ग्राहकहरुले अब जीवन बिमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्नेछन् । जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बिमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको बताइएको छ ।   

बैंकलाई टप बनाउनका लागि अपरेसन, क्रेडिट र मार्केटमा रहेका जोखिम न्यूनिकरणका लागि अलग अलग जोखिम व्यवस्थापन टिम बनाएर काम सुरु गरिएको उनले जानकारी दिए । 

सीइओ शाहले डिपोजिट र लोनको ग्रोथमा मेगा बैंक देशको टप १० वाणिज्य बैंकभित्र पर्न सफल भइसकेको दाबी समेत गरे । 

मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल छन् । देशका ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।