काठमाण्डौ । अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३९.६६ प्रतिशतले घटेको छ। 

कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर ३५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

असार मसान्तसम्म कम्पनीले ५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढी हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँमाथि खुद बीमाशुल्क आर्जन गरेको थियो। 

कम्पनीको खुद दाबी भुक्तानी २९.८८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा घटेर २ अर्ब ७८ करोड  ५९ लाख रुपैयाँमा सीमित भएको छ। 

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानीसँगै कोषहरुको आकार भने वृद्धि भएको छ। लगानी कर्जा तथा अन्यबाट हुने आय २८ प्रतिशतले वृद्धि भएर २ अर्ब ५३ करोड ६९ लाख रुपैयाँ पुगेको छ। 

त्यस्तै जीवन बीमा कोषको आकार १५.३० प्रतिशतले बढाएर २३ अर्ब २३ करोड रुपैयाँ सञ्चित रहेको छ। यसका साथै जगेडा कोषको आकार १३ प्रतिशतले बढाएर कोषमा २ अर्ब ९६ करोड रुपैयाँ र महाविपत्ति कोषको आकार ९.७३ प्रतिशतले बढाएर कोषमा ४० करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ। 

कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानी कोषहरुमा सञ्चित गरेर राखेकोले मुनाफा प्रभावित बन्न पुगेको हो। 

कम्पनीको व्यवस्थापन खर्च ०.६८ प्रतिशतले बढेको छ, भने अभिकर्ता कमिसन २ प्रतिशतले घटेको छ। यसका साथै कायम पोलिसी संख्यासमेत १६ प्रतिशतले घटेर १० लाख ९८ हजार ८७७ मा कायम भएको छ। गत आर्थिक वर्षमा मात्रै कम्पनीबाट ४२ करोड ७२ लाख रुपैयाँ बीमांक रकमको कुल ४ हजार ४५६ वटा बीमालेख सरेन्डर भएको छ।