काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ। 

कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार गर्नेहरुको संख्या बढ्दै गएको हो। अहिले सामान्य किराना पसलदेखि तारे होटेलसम्म सहजै विद्युतीय माध्यमको प्रयोग गरी सेवासुविधा लिन सकिन्छ। 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ पुगेको छ। यो संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ थियो। 

यसैगरी समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा करिब साढे ८ प्रतिशतले इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या बढेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ५८ हजार रहेकोमा समीक्षा अवधिमा बढेर १७ लाख ९८ हजार पुगेको छ। 

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कुल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँबराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १ खर्ब १५ अर्ब ३९ करोड ८ लाख रुपैयाँको हाराहारीमा भएको थियो। यो हिसाबले मोबाइल बैंकिङ हुने भुक्तानी समीक्षा अवधिमा ७९.७७ प्रतिशतले बढेको छ। 

यसैगरी समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । अघिल्लो वर्ष यही अवधिमा यस्तो कारोबार १३ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको भएको थियो। 

समीक्षा अवधिमा डेबिट तथा क्रेडिट कार्डमार्फत क्रमशः ८६ अर्ब ४५ करोड १० लाख र १५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ भने भुक्तानीको साधन कनेक्ट–आईपीएसमार्फत ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाख रुपैयाँबराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

यसैगरी समीक्षा अवधिमा क्यूआरमार्फत २२ अर्ब ८९ करोड २० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी ८ अर्ब ९४ करोड २ लाख रुपैयाँबराबरको मात्रै भएको थियो।