काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ। 

राष्ट्र बैंकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो।

गत आर्थिक वर्षमा पनि राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो। चालु आर्थिक वर्षमा पनि सोही अवधिभित्रमा मौद्रक नीतिको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक जुुटेको राष्ट्र बैंक स्रोत बताउँछ। ‘चुुनावका कारण केही डिस्टर्बेन्स हुन्छ। तिहारका बिदाहरुले पनि अलिकति डिस्टर्बेन्स गरिरहेको स्थिति छ’, स्रोतले भन्यो, ‘त्यसकारण चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा चुुनावपछि नै हुन्छ। त्यहीअनुुसार तयारी भइरहेको छ।’ 

राष्ट्र बैंकले गत साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो।

यता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक रहेका बेला उद्योगी–व्यवसायीले बढ्दो ब्याजदर र चालुपुँजी कर्जा मार्गदर्शनविरुद्ध देशभर आन्दोलन चर्काएका थिए। उनीहरुले ब्याजदर एकल अंकमा झार्न र चालुुपुँजी कर्जा मार्गदर्शन स्थगित गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई समेत आग्रह गरेका थिए। तर, राष्ट्र बैंक भने उद्योगी–व्यवसायीका मागलाई सम्बोधन नगर्ने पक्षमा देखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले बुधबार उद्योगी–व्यवसायीहरुको मागहरुप्रति ऐक्यबद्धता जनाउँदै आसन्न निर्वाचनसम्म सबै किसिमका आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। निर्वाचनपछि पनि उद्योगी–व्यवसायीका माग सम्बोधन नभए महासंघले थप कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरेको छ।