काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज माघ २७ गते बिहान गर्ने भएको छ। 

केन्द्रीय बैंकले बिहान ११ः४५ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। 

राष्ट्र बैंकले जुम मिटिङ (भर्चुअल) माध्यमबाट मौद्रिक समीक्षा सार्वजनिक गर्नेछ। यसका लागि अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ। 

अर्थतन्त्रमा देखिएका बाह्य समस्या समाधानतर्फ उन्मुख भए पनि अन्य सूचकहरुमा उल्लेख्य प्रगति हुन नसकिरहेको र आर्थिक क्रियाकलाप सुस्ताई सबै क्षेत्रको व्यापार–व्यवसाय चौपट भइरहेको बेला आउन लागेको मौद्रिक समीक्षालाई चासोको साथ हेरिएको छ। 

मौद्रिक समीक्षालाई निजी क्षेत्र, सर्वसाधारणले पनि चासोका साथ हेरिरहेका छन् । यसपटकको समीक्षालाई अझ चासोका साथ हेर्नेमा सेयर बजारका लगानीकर्ता छन्। 

राष्ट्रबैंकले मौद्रिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाबाट संशोधन गर्ने नीतिका कारण बैंकिङ प्रणालीको तरलता, ब्याजदर, आर्थिक वृद्धिदर, महँगी नियन्त्रणलगायतका विषयसमेत जोडिएर आएका हुन्छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही महत्वपूर्ण नीतिहरुमा संशोधन हुनसक्ने अनुमान थालिएको छ। यसको अर्थ मौद्रिक नीतिको समीक्षा केही खुकुलो आउनसक्ने देखिन्छ।