काठमाण्डौ । भइरहेका तयारीहरुमा कुनै व्यवधान उत्पन्न भएन भने नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नेछ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पूर्वतयारी भइरहेको विषयमा पुष्टि गर्दै भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना प्रवल रहेको जानकारी दिए। ‘ठ्याक्कै निर्णय भइसकेको अवस्था होइन’, उनले भने, ‘आजको तयारीमा कुनै व्यवधान भएन भने सम्भवतः भोलि सार्वजनिक हुन सक्छ।’

प्रवक्ता ढकालले मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्ने र सो बैठक शुक्रबार बिहान बस्ने सम्भावना रहेकोसमेत जानकारी दिए। 

नेपाल राष्ट्र बैंकले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएलगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, ओली सरकार ढलेसँगै मौद्रिक नीति आउन ढिलाइ भएको थियो। 

शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीको ग्रिन सिग्नल कुरेर बसेका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका थिए। तर, राष्ट्र बैंकका बहुमत सञ्चालकहरुले नयाँ सरकारले ल्याउने अर्थतन्त्रको श्वेतपत्र कुर्नुपर्नेमा जोड दिएपछि उनी पुनः पछाडि हटेका थिए।