काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति अहिले धेरैको चासोको विषय बनेको छ। 

सेयर बजारका लगानीकर्ता, ठूलो उद्योगीव्यवसायीदेखि ससाना व्यापार–व्यवसाय गरेर बसेकाहरु पनि मौद्रिक नीति कस्तो आउला भनेर निकै चासोका साथ प्रतीक्षा गरिरहेका छन्। 

त्यसो त मौद्रिक नीति साउनको २–३ गते नै राष्ट्र बैंकले ल्याउन तयारी गरेको थियो। तर, गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ विभागमा सदस्य रहेका एम अधिकारी प्रकरणमा मुछिनु र उनको चौतर्फी रुपमा राजीनामा माग हुन थालेपछि मौद्रिक नीति आउन ढिलाइ भइरहेको जानकारहरु बताउँछन्। 

अनधिकृत व्यक्तिलाई प्रवेश गराई बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन्। एम अधिकारी प्रकरणमा प्रधानमन्त्री देउवाले पनि गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनिसकेका छन्। यद्यपि न त एमाले एम अधिकारी भन्ने व्यक्तिलाई नै सार्वजनिक गर्न सकेको छैन। गभर्नर अधिकारी पनि राजीनामा दिने मुडमा देखिँदैनन्।

यस्तो अवस्थामा गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अर्थविद्हरुले पनि बताउँदै आएका छन्। 

पछिल्लो समय मौद्रिक नीति यही शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गर्ने भन्ने चर्चा पनि चलेको छ। 

यस विषयमा राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले भने यकिन भइनसकेको बताए। ‘राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने भनेको छ तर यही दिन भनेर तोकिसकेको छैन’, उनले भने।

सहप्रवक्ता पोखरेलले अहिले पनि राष्ट्र बैंकमा मौद्रिक नीतिमा समेटिएका नीतिगत व्यवस्थाहरुमा बुँदागत रुपमा छलफल भइरहेको बताए। ‘मौद्रिक नीतिका विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बाँकी छ’, उनले भने, ‘त्यसपछि मात्र राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक हुन्छ।’

प्रवक्ता पोखरेलको भनाइबाट पनि मौद्रिक नीति यही साताको शुक्रबार नै सार्वजनिक होला भन्ने कुरामा द्विविधा देखिन्छ।