Life Insurance
काठमाण्डौ । पछिल्लो केही साताहरुमा पूँजीबजारमा बिमाको शेयर कारोबार निकै चम्किएको छ । हरेक दिनजसो तेहेरो अंकले बिमा समूहको नेप्से परिसूचक बढिरहेको छ । कुनै दिन बढ्ने यात्रामा सामान्य ब्रेक लागे पनि केही सातादेखि अधिकांश दिन बिमाको शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको पाइएको छ । आखिर बिमाको शेयरमा लगानीकर्ता यति विघ्न आकर्षण किन भएको होला ? विविध कारणमध्ये एउटा मुख्य कारण हो बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बढाएको खूद नाफा ।
हालसम्म देशका ७ जीवन बिमा कम्पनीले मात्र चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा मात्रै करिब ५४ करोड रुपैयाँ खूद नाफा आर्जन गरेका छन् । नाफामा भएको यो बढोत्तरी अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो । यो वर्ष ५३ करोड ६० लाख रुपैयाँ खूद नाफा आर्जन गरेका ७ जीवन बिमा कम्पनीहरुले गत वर्षको सोही अवधिमा ३७ करोड ४६ लाख २७ हजार नाफामा खुम्चिन बाध्य थिए ।
यी जीवन बिमा कम्पनीहरुको व्यापारमा वृद्धिसँगै आम्दानीमा समेत राम्रै बढोत्तरी भएको छ । वित्तीय विवरणअनुसार गत चैतसम्ममा कम्पनीहरूले ८० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोही अवधिको तुलनामा यो रकम १८ प्रतिशत बढी हो । गत वर्षको सो अवधिमा कम्पनीहरूको ६८ करोड ५ लाख ५६ हजार मात्र आम्दानी गरेका थिए ।
यसैगरी, कम्पनीहरूले भैपरी आउने जोखिमबापत छुट्ट्याएको रकममध्ये ३ करोड ४२ लाख रुपैयाँ उठाउन सफल भएका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४ गुणाले बढी हो । त्यस्तै, सो अवधिमा बिमालेख धितोबापत प्रदान गरिएको कर्जालगायत अन्य लगानीबाट समेत यी ७ कम्पनीले राम्रो आम्दानी गर्न सफल भएका देखिएको छ ।
बिमाको शेयरमा देखिएको आकर्षणको अर्को कारण हो, बिमा कम्पनीहरुले घटाएका खर्च । चालु आ.ब.को ९ महिनाको अवधिमा ७ वटै कम्पनीहरुले साबिकको खर्च ४४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ खर्च गरेका कम्पनीले यो वर्षको सोही अवधिमा खर्चलाई घटाएर १५ करोड ९९ लाख रुपैयाँमा झारेका छन् । तेश्रो त्रैमासिक रिपोर्टमै यति राम्रो आम्दानी गरेका र खर्च घटाएका कारण पूरा आर्थिक वर्ष सकिँदा यी कम्पनीहरुले नाफामा राम्रो वृद्धि गर्न सक्ने र लगानीकर्तालाई राम्रो प्रतिफल दिने आशामा समेत बिमाको शेयरमा अनपेक्षित आकर्षण बढिरहेको शेयर बजार विश्लेषकहरु बताउँछन ।
बिमा कम्पनीहरुका अनुसार यो अवधिमा जीवन बिमा कोषको आकार पनि बढेको छ, यसले समेत कम्पनीको नाफा बढाइदिएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीहरूको जीवन बिमा कोषमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी रकम अर्थात कुल ८० खर्ब ९४ लाख रुपैयाँ थुप्रिएको छ । विश्लेषकहरुका अनुसार कम्पनीहरुको दीर्घकालीन लगानी ३२.६७ प्रतिशतले बढेका कारण बिमा कम्पनीहरुको शेयरमा अझ बढी आकर्षण देखिन सक्ने संभावना छ ।
कुन कम्पनीको कति नाफा ?
चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा शतप्रतिशत बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ११ करोड ८७ लाख रुपैयाँ मात्र थियो ।
यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोेरेसनको खूद नाफा ४ करोड ५१ लाख १५ हजार पुगेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ करोड ३९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ६ लाख रुपैयाँ मात्र खूद नाफा गरेको प्राइम लाइफले यो वर्ष सोही अवधिमा नाफा बढाएर ९ करोड ४४ लाख पुर्याएको छ ।
संचालन खर्च अत्यधिक भएर केही बिमा कम्पनीहरुको नाफा भने घटेको छ । जस्तो अघिल्लो वर्ष ९ महिनाको अवधिमा १२ करोड ४२ लाख खूद नाफा कमाएको नेशनल लाइफको नाफा यो वर्ष खुम्चिएर ११ करोड ८६ लाखमा सीमित भएको छ ।
यसैगरी, अघिल्लो आ.ब.को तेश्रो त्रैमास अवधिमा १ करोड ५५ लाख ७५ हजार नाफा आर्जन गरेको सूर्या लाइफ इन्स्योरेन्सको नाफा यो वर्ष सोही अवधिमा खुम्चिएर ७९ लाख रुपैयाँमा सीमित भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको नाफा समेत घटेको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको गुराँस लाइफले यो वर्ष सोही अवधिमा १ करोड १५ लाख रुपैयाँमै चित्त बुझाउनुपरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago