काठमाण्डौ । केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति गत शुक्रबार वा आज आइतबार सार्वजनिक गरिने जानकारी दिएका थिए। 

गत साता एउटा सार्वजनिक कार्यक्रममै गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउन ढिलाइ भइसकेको भन्दै शुक्रबार सार्वजनिक गर्ने तयारी भइरहेको बताएका थिए। यदि कुनै कारण शुक्रबार भएन भने आइतबार जसरी पनि सार्वजनिक गर्ने गभर्नर अधिकारीको भनाइ थियो। तर आज आइतबार पनि मौद्रिक नीति सार्वजनिक गरिएन। 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रै मौद्रिक नीति सार्वजनिक गरिने बताए। ‘मौद्रिक नीति तयार छ’, उनले भने, ‘राष्ट्र बैंकका सञ्चालकहरु व्यस्तताका कारण मौद्रिक नीति सञ्चालक समितिको बैठकमा पेस गर्न सकिएको छैन।’

सम्भवतः सञ्चालक समितिको बैठक १–२ दिनमै बस्ने र सोही बैठकमा मौद्रिक नीति पेस गरिने राष्ट्र बैंक स्रोत बताउँछ। ‘त्यसैले आउँदो शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक भइसक्नेछ’, स्रोतले भन्यो।