काठमाण्डौ । पछिल्लो दिनमा फेसबुकका मालिक मार्क जुकरबर्गको कम्पनी मेटाको सेयरमूल्यमा भारी गिरावट आइरहेको छ। योसँगै उनी विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिने सम्भावना प्रबल बनेको छ।

विश्वका धनाढ्यहरुको सूची तयार पार्ने संस्था  ब्लुमबर्गका अनुसार अहिले मार्क जुकरबर्ग विश्वका धनाढ्यको सूचीमा दसौँ स्थानमा छन्। गएको साता विश्व सेयर बजारमा मेटा कम्पनीको सेयर भ्यालु ३१ बिलियन डलरले घटेको थियो। 

मेटा कम्पनीको सेयरमा बिहीबार पनि भारी गिरावट आएको थियो। कम्पनीको सेयरमा २६ प्रतिशतले गिरावट आउँदा बजार भ्यालु २४० बिलियन डलरमा झरेको थियो। 

जुकरबर्गसँग कम्पनीको ३९८ मिलियन कित्ता मेटा कम्पनीको सेयर रहेको छ। प्रविधिको परिवर्तनसँगै फेसबुकका प्रयोगकर्ताहरु अमेरिका र क्यानाडाबाट ठूलो संख्यामा घटेको तथ्यांक मेटा कम्पनीले नै सार्वजनिक गरेको छ। 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता टिकटकमा बढी आकर्षित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। –एजेन्सी