काठमाण्डौ । जर्मनीको बर्लिनमा रहेको कारखानाबाट कारको आपूर्ति सुरु भएसँगै टेस्लाको सेयरमूल्यमा उछाल आएको छ। 

लगानीकर्ताबीच जर्मन सरकारले सवारी आपूर्तिका लागि अनुमति दिने वा नदिने भन्ने अन्यौलता रहेका बेला बर्लिन कारखानाबाट भएको पहिलो डेलिभरीले टस्लाको सेयरमूल्यमा बितेका केही सातादेखि उछाल आएको हो। 

टेस्लाका करिब ३० प्रतिशत लगानीकर्ताले रेड टेप र ब्युरोक्रेसीका कारण बर्लिनको कारखाना कहिल्यै पनि नखुल्ने बताउँदै आइरहेका थिए। उनीहरुमा कम्पनीले युरोपमा आफ्नो प्रभाव जमाउन नक्सने डर व्याप्त थियो। तर, ती सबै आशंका र डरलाई चिर्दै टेस्लाले गत मार्च २२ मा बर्लिन कारखानाबाट आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ। जसको प्रभाव कम्पनीको सेयरमूल्यमा देखिएको छ। 

यस्तै आगामी सातादेखि कम्पनीले टेक्सासको अस्टिनमा रहेको अर्को कारखानाबाट समेत आपूर्ति सुरु गर्दैछ। यी सुखद् समाचारले कम्पनीको बियरिस अवस्थामा रहेको कम्पनीको सेयरमूल्य बुलिस अवस्थामा पुगेको छ। गत मार्च १४ मा ३६ प्रतिशत वार्षिक गिरावटका साथ कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६६.३७ डलरमा बन्द भएको थियो। गत बुधबार कम्पनीको सेयरमूल्य केही झिनो अंकका साथ बन्द भए पनि १२ कारोबार दिनमध्ये १० दिन कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ। 

सेयर मूल्यमा आएको उछालले कम्पनीलाई स्टक स्प्लिटको निर्णय गर्न लगानीकर्ताको राय माग्न प्रेरित गरेको छ। सन् २०२० अगस्टमा गरेको स्टक स्प्लिटपश्चात कम्पनीको सेयर संख्या दोब्बरले वृद्धि भइसकेको छ। 

कम्प्युटर चिप्स र अन्य निर्माण सामग्रीको अभावका कारण सुस्त उत्पादनको समस्या भोगिरहेको अटो उद्योगको नियतिबाट टेस्ला भने टाढिन सफल भएको छ। अमेरिकाको समग्र कार बिक्रीमा यो वर्ष १५ प्रतिशत गिरावट आउने प्रक्षेपण गरिएकोमा आगामी त्रैमासिक रिपोर्टमा टेस्लाको कार बिक्री वृद्धि भएर ३ लाख ८ हजार युनिट पुग्ने अनुमान गरिएको छ।  

सन् २०२१ मा टेस्लाले ९ लाख ३६ हजार युनिट कार बिक्री गरेको थियो। – एजेन्सी