काठमाण्डौ । कुनै पनि कम्पनीले दसैँतिहारका अवसरमा आफ्ना कर्मचारीलाई बोनसका रुपमा नगद वा केही न केही उपहार अवश्य दिन्छन्। जसले गर्दा कर्मचारीको मनोबल बढ्नुका साथै कामप्रति उत्साह जाग्छ। 

छिमेकी मुलुक भारतमा भने दिवालीको रौनिक निकै हुन्छ। त्यहाँ दिवालीका बेला हरेक वर्ष कम्पनीहरुले आफ्ना कर्मचारीलाई केही न केही उपहार अवश्य दिन्छन्। 

भारतको गुजरास्थित एउटा कम्पनीले आफ्ना कर्मचारीलाई यस्तो सरप्राइज गिफ्ट दियो, जसको चर्चा अहिले निकै चलिरहेको छ।

न्युज एजेन्सी एएनआईका अनुसार सुरतस्थित एउटा कम्पनीले आफ्ना कर्मचारीलाई दिवालीका अवसरमा इलेक्ट्रिक स्कुटर उपहारस्वरुप प्रदान गरेको छ। कम्पनीका अधिकारीहरुका अनुसार पेट्रोल र डिजेलको बढ्दो मूल्यलाई ध्यानमा राखेर कर्मचारीहरुलाई इलेक्ट्रिक स्कुटर दिइएको हो। 

कम्पनीका निर्देशक सुभाष डाबरका अनुसार कम्पनीमा कार्यरत ३५ कर्मचारीलाई इलेक्ट्रिक स्कुटर दिइएको छ। ‘मुख्य रुपमा देश दैनिक बढिरहेको पेट्रोल र डिजेलको भाउलाई ध्यानमा राखेर हामीले यसपालिको दिवालीमा कर्मचारीलाई इलेक्ट्रिक स्कुटर दिने निर्णय लियौँ र ती कर्मचारीलाई उपहारस्वरुप दियौँ’, उनले भने, ‘उपहारमा इलेक्ट्रिक स्कुटर पाएर कर्मचारीहरु पनि दंग छन्।’

यो उपहारले २ किसिमको फाइदा हुने डाबरको भनाइ छ। ‘पहिलो पेट्रोल–डिजेलबाट कर्मचारीलाई छुट्कारा मिल्नेछ’, उनले भने, ‘दोस्रो इलेक्ट्रिक गाडीको प्रयोगले वातावरण प्रदूषण पनि कम हुनेछ।’

पेट्रोल र डिजेलको मूल्यवृद्धि कारण हाल भारतमा इलेक्ट्रिक गाडीहरुको प्रयोग बढ्दो छ। – एजेन्सी